झापाको दमकमा एक साता लकडाउन थप गर्ने निर्णय

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ११ : ४१


काठमाडौं । कोरोना सङ्क्रमण तीव्र फैलिँदै गएपछि झापाको दमकमा लकडाउन एक साताका लागि थपिएको छ।

शनिबार बसेको दमक नगरपालिकाको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमित बढेको भन्दै लकडाउनलाई भदौ १३ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो।

बैठकमा जनप्रतिनिधिहरुसहित राजनीतिक दल, सुरक्षा अधिकारी तथा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो। यसअघि दमकमा कोरोनाको जोखिम बढेको भन्दै एक सातासम्म लकडाउन गर्ने निर्णय गरिएको थियो।

त्यसको समयसीमा शनिबार सकिँदै थियो तर शनिबार नै थप १६ जनामा एकैसाथ कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिका लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रवक्तासमेत रहेकी दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन्।

उनका अनुसार शनिबार सङ्क्रमित हुनेमा नेपाल विद्युत् प्राधिकरणका सात कर्मचारी, आठ प्रहरी र दमक फार्मेसीका एक जना छन्। योसँगै दमकमा कोरोना सङ्क्रमितको सङ्ख्या ६६ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्