काठमाडौं । भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले आज पनि मुलुकभरको मौसममा बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा सामान्य बदली भइ विभिन्न ४ प्रदेशमा वर्षा भइरहेको छ । अहिले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ ।
त्यस्तै आज दिउँसो गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने आज राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।