प्रदेश १ मा थप १०२ जनामा कोरोना सङ्क्रमण

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ८ : ४८


विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा थप १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। थपिएकामध्ये ३७ महिला र ६५ पुरुष छन्।

योसँगै प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५८९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा यो प्रदेशअन्तर्गत मोरङका ४९, सुनसरीका ३०, झापाका १६, भोजपुरका तीन, इलामका एक र यस प्रदेश बाहिरका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा विराटनगरमा ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये १३ महिला र २० पुरुष छन्।

मोरङमा कोरोना देखिनेमा सुनबर्षीमा दुई महिला आठ पुरुष, सुन्दरहरैचामा एक महिला एक पुरुष, कटहरीमा दुई पुरुष, धनपालथानमा एक पुरुष र स्थानीय तह नखुलेकी एक महिलामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसैगरी जिल्ला बाहिर सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा पाँच महिला तीन पुरुष, धरानमा एक महिला तीन पुरुष, गढीगाउँपालिकामा एक महिला तीन पुरुष, भोक्रहामा एक पुरुष र स्थानीय तह नखुलेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

यस्तै झापाको दमकमा तीन महिला १३ पुरुष, भोजपुरको अरुण गाउँपालिकामा तीन पुरुष, इलामको देउमाईमा एक पुरुष र प्रदेश बाहिरका दुई महिला एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यस प्रदेशमा आजसम्म एक हजार २४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अहिलेसम्म ७६ हजार ३५३ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्