नेकपा कार्यदलको प्रतिवेदन : ओलीलाई सरकार र प्रचण्डलाई पार्टी चलाउन सुझाव

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ५ : २७


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधाानका लागि गठित कार्यदलले आफ्नो काम पूरा गरेको छ ।

कार्यदलले अध्ययन प्रतिवेदन तयारी गरी शनिबार पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ ।

कार्यदलले तत्कालका लागि केपी शर्मा ओलीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पदबाट राजीनामा दिनु नपर्ने सुझाव दिएको छ ।

यस्तै, ओलीले पार्टीको सहमति र सल्लाहका आधारमा सरकार सञ्चालान गर्ने र अर्का अध्यक्ष प्रचण्डले पूर्ण अधिकारसहित पार्टी सञ्चालन गर्ने सुझाव पनि कार्यदलले प्रतिवेदनमार्फत दिएको छ ।

यस्तै, हाल स्थगित रहेको स्थायी कमिटी बैठक यसअघि निर्धारण भएका एजेन्डाकै आधारमा अगाडि बढाउने, पार्टीको सैद्धान्तिक पक्ष र विवादित अन्य विषयलाई आगामी महाधिवेशनबाट टुंगो लगाउने पनि कार्यदलले सुझावमा समेटेको छ ।

यस्तै, सरकारको भूमिकालाई थप प्रभावकारी बनाउन संघीय मन्त्रिपरिषदमा केही परिवर्तन गर्ने । केही प्रदेशमा पनि सरकारमा केही फेरवदल गर्ने सुझाव पनि कार्यदलले दिएको छ ।

कार्यदलले कोरोना महामारीको अवस्था सामान्य भएपछि मात्रै केन्द्रीय कमिटी बैठक बोलाउने र कोरोना महामारीको अवस्था सामान्य भए आगामी चैतसम्ममा पार्टीको एकता महाधिवेशन गर्ने गरी कार्यतालिका निर्धारण गर्न पनि सुझाव दिएको छ ।

गत असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपा भित्र आन्तरिक विवाद चुलिएको थियो ।

यसबीचमा स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै बस्दै आएको थियो । गत साउन दोस्रो साता अध्यक्ष ओलीले ‘एकपक्षीय’ रुपमा स्थायी कमिटी बैठक अनिश्चित समयका लागि स्थगित गरिदिएपछि नेकपाको विवाद पार्टी विभाजनको स्तरसम्म पुगेको थियो ।

ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायत पक्षका बहुमत स्थायी कमिटी सदस्यको छुट्टै बैठक बसेको थियो ।

सोही बैठकले अध्यक्ष प्रचण्डलाई पार्टी भित्रको विवाद समाधानका लागि अर्का अध्यक्ष ओलीसँग छलफल गर्ने जिम्मा दिएको थियो ।

त्यसपछि दुवैजना अध्यक्षबीच विवाद समाधानका लागि भनेर पटक पटक छलफल भएपनि सहमति भने हुन सकेको थिएन ।

विवाद समाधानका लागि भन्दै दुई जना अध्यक्षकै सहमतिमा साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको कार्यदललाई भदौ १ गते बसेको सचिवालय बैठकले समेत अनुमोदन गरेको थियो ।

गठन भएको झन्डै १ हप्तापछि कार्यदलले शनिबार अध्यक्षद्वयलाई आफ्नो प्रतिवेदन बुझाएको हो । अब उक्त प्रतिवेदन अध्यक्षद्वयले सचिवालय बैठकमा प्रस्तुत गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस्