कोरोना संक्रमणबाट ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ४ : ३६


काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुरका गरी ९ जनाको मृत्यु भएको हो ।

कोरोना भाइरसका कारण ज्यान गुमाउनेमा ६ वर्षीया बालिका समेत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सुनसरीमा एक ६ वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सुनसरीमै अर्का ६७ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ ।

यस्तै, पर्सामा ३ जनाको मृत्यु भएको छ । पर्सामा मृत्यु हुनेमा ६१ वर्षीय, ५८ वर्षीय र ४८ वर्षीय पुरुष छन् ।

यस्तै, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

यस्तै, हालसम्म नेपालमा ३१ हजार १ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये १८ हजार ३ सय ५० जना संक्रमण मुक्त भइसकेका छन् भने अझै पनि १२ हजार ६ सय २१ जना उपचाररत छन् ।


प्रतिक्रिया दिनुहोस्