चितवन । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि बल्ल यहाँका स्थानीयतहले धमाधम आइसोलेसन शैय्या बनाउन शुरुआत गरेका छन्।
कोरोनाको लक्षण नदेखिएका बिरामी राख्न आइसोलेसन स्थल बनाउन थालेका हुन् । भरतपुर महानगरपालिकाले वागेश्वरी, पूर्वी चितवनका चार नगरपालिकाले रत्ननगर र माडी नगरपालिकाले छरछरेमा आइसोलेसन बनाउन थालेका छन्।
भरतपुरले योगी नरहरीनाथ आश्रम परिसरमा रहेको प्राकृतिक चिकित्सालयमा अगामी आइतबारदेखि सञ्चालन गर्ने गरी आइसोलेसन तयार गर्दै छ । रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाले सयुक्त व्यवस्थापन गर्ने गरी रत्ननगर ५ झुवानीमा आजबाट आइइसोलेसन सञ्चालन गर्ने जनाएका छन् । माडी नगरपालिकाले माडीले ५ छरछरेमा यसअघिनै आइसोलेसन तयार गरेको थियो।
जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा एक जना मात्र सङक्रमित भरतपुरमा अस्पताल रहँदा सङक्रमित देखिएकाले आइसोलेसन बनाइसकेको छैन।
भरतपुर महानगर प्रमुख रेनु दाहालले वागेश्वरीको योगी नरहरीनाथ आश्रम भित्रको प्राकृतिक चिकित्सालयमा आइसोलेसन तयार गर्न लागेको जानकारी दिए।
यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अन्तिम छलफलमा रहेको उनको भनाइ छ।
महानगरभित्र ५० वटा क्वारेन्टिन सञ्चालन गरेको महानगरले पहिलो पटक कोरोना अस्थाइ अस्पताल सञ्चालनमा ल्याइसकेको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले वागेश्वरी आइसोलेसनमा तत्काल ९० जना र पछि २ सय जनासम्म राख्न सकिने बताए।
प्राकृतिक चिकित्सालयलाई व्यवस्थापकीय जिम्मेवारी दिन लागिएको उनको भनाइ छ।
पूर्वी चितवनका चार नगरपालिकाले कोरोनासँग संयुक्त रुपमा जुध्ने प्रण गरेका छन् । रत्ननगर नगरपालिका प्रमुख नारायण वनका अनुसार रत्ननगर ५ झुवानीस्थित कृषि सहकारीको तालिम केन्द्रमा ६२ श्ययाको आइसोलेसन आजबाट सुरु गरिदैं छ।
आवश्यक भएमा सोही ठाउँमा १०० जना राख्न सकिने उनले बताए।
राप्ती नगरपालिका प्रमुख प्रभा वरालले विरामी थपिदैं गएमा आइसोलेसन विस्तार गरिदैं लगिने जानकारी दिए।
नेपाली सेनाको सैनिक आवासीय मावि, गुञ्जमान अस्पताल, राधास्वामी सस्था लगायतका स्थानहरुमा पनि सम्भावित आइसोलेसन राख्ने तयारी ती नगरपालिकाले गरेका छन् । पूर्वी चितवनको रत्ननगर वकुलहर अस्पतालमा भेन्टिलेटर सहितको सघन उपचार कक्ष र पिसिआर परीक्षण प्रयोगशाला स्थानपनाका लागि वागमती प्रदेशसंग पनि उनीहरुले माग गरेको जनाएका छन् ।
माडी नगरपालिका प्रमूख ठाकुर ढकालका अनुसार छरछरेमा २० जना क्षमताको सामुदायिक भवनलाई आइसोलेसन बनाइएको हो।
त्यहाँ कोठामै शौचालय रहेका १० वटा कोठा छन् । विरामी बढेमा थप ठाउँ व्यवस्थापन गरिने उनले जानकारी दिए। यस्तै पूर्वी चितवनको राप्तीमा रहेको शशस्त्र प्रहरी वल नेपाल नम्बर ३ गढीमाई वाहिनिको भित्र आइसोलेसन बनाइएको छ।
वाहिनिमा हाल ४९ जना सशस्त्रका सङक्रमित रहेको र उनीहरुलाई विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार राखिएको वाहिनि प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक मन्दिप श्रेष्ठले जानकारी दिए।
उनका अनुसार सङक्रमित, आशंका गरी स्वाब सङकलन गरी नतिजा पर्खिएका र अन्यलाई फरक फरक स्थानमा राखिएको छ।
स्थानीय तहहरुले सञ्चालन गरेको आइसोलेसनमा स्वास्थ्यका कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स तयारी अबस्थामा राखिने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार हालसम्म जिल्लामा एकसय १३ सङक्रमित निको भएको, १ सय ८६ सक्रिय सङक्रमित रहेको र तीन जनाको मृत्यु भएको छ। कुल सङक्रमितको सङख्या ३ सय २३ पुगेको छ।
भरतपुर अस्पताल मेडिकल कलेज र निजी अस्पतालमा पनि हाल सङक्रमित रहेका छन्।
लक्षण नदेखिएका सङक्रमितलाई अब अस्पतालमा भर्ना नगरी स्थानीय तहका आइसोलेसनमा राखिने भएको छ। सरकारले लक्षण नदेखिएका बिरामीलाई अस्पतालमा नराख्ने निणर्य गरेको छ।
प्रजिअ भट्टराईले सबैलाई निषेधाज्ञाको पालना गर्न जिल्लबासीसँग विशेष अनुरोध गरेका छन।
जिल्लामा दोस्रो हप्ताको निषेधाज्ञा आजबाट सुरु भएको छ । यहाँ देशका बिभिन्न क्षेत्रबाट बिरामीहरु उपचारका लागि र कामदारहरु काम गर्नका लागि आउने भएकाले कोरोना सङक्रमण दैनिक बढ्दै गएको जनाइएको छ।-रासस