विप्लव नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुन जेल चलान

प्रकाशित मिति : श्रावण २६, २०७७ सोमबार


काठमाडौं नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन फेरी गिरफ्तार हुने चाल पाएपछि धरौटी नबुझाएर कारागार चलान भएका छन्।

गत असार ३१ गते प्रदेशको अस्थायी राजधानी धनगढीबाट पक्राउ परेका पुनलाई जिल्ला अदालतमा भएको थुनछेक बहसपछि ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो।

तर पुनले धरौटी नबुझाएपछि कारागार चलान गरिएको अदालतका सूचना अधिकारी नरबहादुर नेगीले बताए।

विप्लव नेतृत्वको नेकपाले भने प्रहरीले पुनलाई पुनः पक्राउ गरी खोटाङ लैजाने चाल पाएपछि धरौटी नबुझाएर उनी कारागार गएको दावी गरेको छ।

पुनसँगै पक्राउ परेकी उनकी श्रीमती पूर्णिमा धामीलाई साधारण तारेखमा रिहा गरिएको छ।

उनीहरु दुवैजनालाई कटुवा पेस्तोल र गोली सहित प्रहरीले धनगढीबाट पक्राउ गरी मुद्दा चलाएको थियो।


प्रतिक्रिया दिनुहोस्