यो घरमा भएको थियो गोंगबु विभत्स घटना, प्रहरीले गर्‍यो सिल

प्रकाशित मिति : श्रावण २६, २०७७ सोमबार


काठमाडौं । आइतबार गोंगबु गणेशस्थान नजिकै सुटेकेशमा टाउको विनाको शव नजिकैको घरबाट ल्याइएको तथ्य खुलेको छ ।

सुटकेश फेला परेको स्थानबाट ५० मिटर पर रहेको घरबाट शव ल्याइएको फेला परेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले घटना भएको घर फेला परेको जानकारी दिँदै प्रहरीले सो घरलाई सिल गरेर अनुसन्धान तथा सोधपुछ थालेको बताए ।

आइतबार सुटकेशमा शरीर र केही पर झोलामा टाउको फेला परेका व्यक्ति दाङका कृष्ण बहादुर बोहोरा भएको सार्वजनिक भएको थियो ।
उनी नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने गरेका थिए ।

आइतबार विहान स्थानीयले कालो सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी टोलीले सुटकेश खोलेर हेर्दा टाउको नभएको शव फेला पारेको थियो ।

क्रुर र विभत्सरुपमा भएको घटनामा टाउको बाहेको शव सुटकेशमा फेला परेको समाचार सार्वजनिक भएसँगै स्थानीय घटनास्थलमा जम्मा भएका थिए ।

उच्च अधिकारीसहितको ठूलो संख्यामा प्रहरी घटनास्थलमा परिचालन गरिएको थियो भने तालिम प्राप्त कुकुरलाई पनि अनुसन्धानका लागि घटनास्थल लगिएको थियो ।

सुटकेशमा टाउको विनाको शव फेला परेसँगै प्रहरीले शव पहिचान र टाउकोको खोजी गरेको थियो ।

अनुसन्धानका लागि घटनास्थल लगिएका तालिम प्राप्त कुकुरले सुटकेश फेला परेको भन्दा ३ सय मिटर पर जेब्रा झोलामा टाउको फेला पारेको थियो ।

टाउको र शवलाई आइतबार नै पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको हत्याको कारण र हत्यारा बारे खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

सुटकेश भेटिएको स्थान नजिकैको घरबाट ल्याइएको थियो टाउको नभएको शव !

गोंगबुमा सुटकेसमा भेटिएको टाउको विनाको शवको पहिचान खुल्यो


प्रतिक्रिया दिनुहोस्