बंगलादेशसँग अर्थमन्त्रीको प्रस्ताव– कोरोनाले ल्याएको चुनौती र अवसरमा सहकार्य गरौं

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ८ : ३५


अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड– १९ ले ल्याएको चुनौती र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न बङ्गलादेशसँग आह्वान गरेका छन् ।

नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्ससँगको शिष्टाचार भेटमा उनले बंगलादेशले आर्थिक विकासमा गरेको प्रगतिको प्रशंसा गर्दै नेपालले पनि धेरै विषयलाई आत्मसात गरी आर्थिक विकासको गति अघि बढाइरहेको बताए ।

लघुवित्त, वित्तीय साक्षरता, वित्तीय पहुँच, मोबाइल बैंकिङको विस्तारमा नेपालले बङ्गलादेशबाट धेरै सिकेको स्मरण गर्दै अर्थमन्त्री खतिवडाले दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाइँसराइ, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापन जस्ता विषयमा सहयोग र सहकार्य गर्नसक्ने अवस्था रहेको बताए । उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को माध्यमबाट क्षेत्रीय सहयोग तीव्र गतिमा अघि बढाउन समान भाषा र संस्कृति भएका नेपाल, भारत, बङ्गलादेश र भूटानबीचको उपक्षेत्रीय इकाइ महत्वपूर्ण हुनसक्ने सम्भावना औँल्याए ।

भेटमा अर्थमन्त्रीले नेपाल र बङ्गलादेशबीच पाँच दशकभन्दा लामो सम्बन्ध भएको उल्लेख गर्दै द्विपक्षीय व्यापार, ऊर्जा र लगानीका विविध आयाममा दुवै देशबीच सहकार्य जारी रहेको बताए । उनले दुवै देश प्राकृतिक, मानव संशाधनलगायत स्रोतबाट सम्पन्न भएकाले यसको उपयोगबाट द्रुत आर्थिक विकास गर्न सकिने बताए । नेपाल र बङ्गलादेशले अतिकम विकसित मुलुकको मञ्च, सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य निर्माणको चरणमा सहकार्य गरेको स्मरण गर्दै उनले अन्तरराष्ट्रिय र क्षेत्रीय सवालमा समान धारणा राख्ने राष्ट्र भएकाले सहकार्य हुनसक्ने साझा विषयमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सो अवसरमा राजदूत साम्सले बङ्गलादेश क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चमा नेपालसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले दुई देशबीच व्यापार, ऊर्जा सहयोग, लगानीलगायतका क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेकामा जोड दिँदै सहुलियतपूर्ण र सौविध्य प्राप्त व्यापारका माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताइन् ।

वातावरणीय संवेदनशीलतासम्बन्धी मञ्च, कोलम्बो मञ्च, सगरमाथा संवाद जस्ता मञ्चको उपयोग गरी द्विपक्षीय हितमा कार्य गर्न अनुरोध गर्दै उनले नेपाल र बङ्गलादेशबीचको पाँच दशक लामो साझेदारी र सहकार्यलाई थप सुदृढ गर्न सकिने धारणा व्यक्त गरिन् । राजदूत साम्स कार्यकाल पूरा गरी बङ्गलादेश फर्कदै छिन् ।


प्रतिक्रिया दिनुहोस्