‘प्रधानमन्त्रीज्यू ! अनशनकारीले न सत्ता मागेका छन् न भत्ता, वार्ता गर्न किन साइत कुरेको ?’

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : ५३


काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र शासकीय क्षमता दुबै कुरा सरकारसँग नदेखिएको आरोप लगाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै त्यसको परिणाममा सरकारका विरुद्ध जनआक्रोश बढ्ने र  प्रदर्शनहरु भएको बताएका छन् ।

उनले आमरण अनशनमा बसेका युवाहरुको कुरा सरकारले नसुनेको भन्दै आपत्ती जनाए ।

आमरण अनशनमा रहेका युवाहरुसँग तत्काल वार्ता गर्न उनले आग्रह गरे ।

उनले विज्ञप्तिमा भनेका छन्, “कोरोनाविरुद्धको संघर्षमा युद्धस्तरमा कार्य गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुरुवात देखिनै विभिन्न सुझाव र माग अघि सार्दै आएको छ । पर्याप्त स्वास्थ सामग्री ब्यवस्थापन, खरिदमा भएको भ्रष्टाचारमा कार्वाही, समुदाय स्तरमा व्यापक पीसिआर परिक्षण, आरडिटी खारेजी, मापदण्ड अनुसार क्वारेन्टाइन ब्यवस्थापन, कोभिड अस्पतालहरु विस्तार, आइसोलेसन वार्ड र अत्यावश्यक भेन्टिलेटरको व्यापक ब्यवस्था, बिदेशमा अप्ठ्यारोमा परेकालाई निःशुल्क उद्वार, सिमा नाकामा कडाई, श्रमिक, बेरोजगार र विद्यार्थीलाई राहत लगायतका मागहरू वक्तव्य, प्रत्यक्ष संवाद, संसदमा ध्यानाकर्षण देखि स्वदेश–बिदेशबाट एकसाथ ज्ञापनपत्र मार्फत नेपाली कांग्रेसले निरन्तर सरकार समक्ष प्रस्तुत गरेको छ । तर जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र शासकीय क्षमता दुबै कुरा सरकारसँग देखिएन । परिणाममा सरकारका विरुद्ध जनआक्रोश बढ्नु र प्रदर्शनहरु हुनु स्वभाविक थियो ।”

शर्माले जारी गरेको विज्ञप्तिमा सरकार गम्भीर नहुनु अत्यन्तै दुःखद् भएको उल्लेख छ ।

“विभिन्न माग राखेर राजधानीमै युवाहरू आमरण अनशनमा बसेका छन् । त्यही माग अघि सारेका छन् जो विगत देखि दल र संचार माध्यमहरुले उठाउंदै आएका थिए । सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकारेर गरेको सम्झौता पालना गर्न दबाब दिइरहेका छन् । तर अनशनमा बसेको बीस दिन पूरा भई सक्दा संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु अत्यन्तै दुःखद छ,” विज्ञप्तिमा भनेका छन्, “कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न युद्धस्तरमा कार्य गर्न दबाबका लागि सडक प्रदर्शन र अनशनमा ओर्लनु पर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद घटना हो । नेपाली कांग्रेस अनशनरत युवाहरूको भावनालाई अविलम्ब सम्बोधन गरेर जीवन रक्षा गर्न र कोरोना विरुद्धको संघर्षमा व्यापक बढेको चुनौती सामना गर्ने ढंगले नवीन रणनीति एवं अपेक्षित गतिका साथ कार्य गर्न सरकार समक्ष माग र सार्वजनिक अपील गर्दछ ।”


प्रतिक्रिया दिनुहोस्