विद्यालय खोल्ने निर्णय कार्यान्वयन गर्न स्थानीय तहलाई परिपत्र

प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार


काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालयका क्रियाकलाप सञ्चालन हुने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ।

शिक्षा मन्त्रालयले बिहिबार एक सूचना मार्फत देशका सबै स्थानीय तहलाई विद्यालयका क्रियाकलाप सन्चालन गर्न परिपत्र पठाएको हो।

मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमका नाममा जारी परिपत्रमा कोरोनाका कारण बन्द रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुने गरी शैक्षिक क्रियाकलाप सञ्चालन गर्न भनिएको छ।

विद्यालय परिसरमा क्वारेन्टाइन नबनाउने र बनाएका हटाउन मन्त्रिपरिषद्ले यसअघिनै निर्णय गरिसकेको छ।

शिक्षा मन्त्रालयले परिपत्र मार्फत शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन बाँकी रहेको भए प्रकाशन गर्ने, भदौ १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीहरुको संख्यात्मक विवरण यकिन गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने निर्देशन दिएको हो।


प्रतिक्रिया दिनुहोस्