श्रीमानको रगत फेरिरहनुपर्छ, माया गरेर पाल्छु भनेर छोरी दिएको बाक्सामा पो…

प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार


कोरोनाभाइरसको महामारीका कारण विश्वमा हवाई उडाउनहरु ठप्प भए । नेपालले पनि हवाई उडान बन्द गरेको थियो भने देशमा लकडाउन थियो ।

चितवनकी ३८ वर्षीया एक महिला असार ८ गते काठमाडौंस्थित त्रिभुवन विमानस्थल उत्रिइन् ।

सरकारले गरेको उद्धार उडानमार्फत आएकी उनलाई अरु महिलालाई भन्दा कठिन थियो ।

गर्भवती रहेकी उनको ९ औं महिना चलिरहेको थियो ।

विदेशी भूमिबाट निकै ठूलो दुःख कष्ठ सहेर आएकी उनी चितवनस्थित घर जान सक्ने अवस्था थिएन ।

काठमाडौंमा जानका लागि ठाउँ छैन र साथमा पैसा पनि छैन ।

काठमाडौं उत्रिएपछि उनी थप कमजोर बनिन् ।

सरकारी उद्धार मार्फत आएकालाई होल्डिङ सेन्टर(केही समय वा दिन बस्ने स्थान) को व्यवस्था गरिएको थियो ।

कहिँ जाने ठाउँ नभएपछि उनी शुरुमा बसुन्धारास्थित होल्डिङ सेन्टरमा पुगिन् ।

त्यहाँ पुगेपछि नेपाली सेना र नेपाल प्रहरीका व्यक्तिले उनलाई घर जान सुझाव दिए ।

तर घरको आर्थिक अवस्था अत्यन्त नै दयनीय र उनी पनि गर्भवती रहेपछि सेना र प्रहरीको समन्वयमा उनी आप्रवासी कामदार महिला समूह(आम्कास) नामक संस्थामा पुगिन् ।

त्यहाँ गएको केही दिनपछि उनलाई सुत्केरी बेथा लाग्यो ।

बेथा लागेपछि आम्कासका प्रतिनिधिले उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगे ।

अस्पताल लगेको तेस्रो दिन साउन ६ मा उनले सन्तान जन्माइन् ।

जन्माउनुको पीडाका बीच सन्तानको माया कसलाइ हुँदैन र ?

उनमा पनि त्यही मातृत्व भाव पैदा भयो ।

भरखर जन्मिएकी छोरीलाई चुमिन्…

हर्षका आसु खसालिन् ।

छोरी जन्मिएपछि ज्यान आधा भएको अनुभव गरिन् ।

दुबइको तातोमा निकै कष्ठसँगै पेटमा रहेकी छोरीका लागि दुख गरेको स्मरण गरिन् ।

आशु खसालिन्….

छेउमै सुतेकी छोरीलाई हेरिन्….

दुःख पीडा सबै भुलिन् ।

विदेशी भूमिको तातो र नौ महिनासम्म घरेलु कामदार भएर पाएको पीडालाई पनि भुलिन् ।

जीवनमा सबैभन्दा दुःख परदेशी भूमिमा पाएपछि नेपाल फर्कने गरेको प्रयासलाई पनि छोरीको अनुहार हेर्दा उनले विर्सिइन् ।

तर….

छोरी जन्मनुको खुसीसँगै उनले आगामी दिन बारे सोचिन्

दुःखका आशु झरे ।

छोरीलाई खुवाउने जाउलो पनि छैन, न साथमा पैसा छ । उनको मन कुँडियो । छोरीको मायाले फेरि अंगालो मारिन् र रोइन् ।

तर त्यतिले पेट भरिँदैन । जीवन जिउन कति गारो छ भन्ने उनले दुबइको तातो घाममा भोगेकी थिइन् ।

अह…

छोरीलाई यस्तो दुःख दिन हुँदैन ।

एक पेट खान पुग्ने हुनुपर्छ बरु मैले माया नै किन नगरु ।

उनी निष्ठुरी बनिन् ।

आफूलाई राखेको संस्थाका म्याडमहरुले ‘तिमी र तिम्री सानी छोरी यही बस’ भनेको सम्झिइन् ।

सँगै उनले चितवनमा रहेका पतिलाई पनि सम्झिइन् ।

पतिको रगत समय समयमा फेरिरहनुपर्छ ।

उनले आशु खसालिन् ।

एक दिन काम गरे तीन दिन बिरामी पर्छन् श्रीमान् ।

फेरि पनि जानु त चितवन नै छ !

मेला पात गरेर भएपनि बिरामी श्रीमानको छेउमै बस्न पाए ?

उनले सोचिन्

भरखर जन्मिएको सानी छोरीलाई फेरि हेरिन्…

उधुम माया जाग्यो । निकै कोमल शरीरलाई गर्ल्याम्म अंगालो हालिन् । धेरै बेर रोइन् ।

उनका आँशु बग्न छोडे । सायद सकियो होला

दुख पनि कति….

बच्चालाई लिएर घर जाँउ एक पेट खाने कुरा छैन ।

ज्वानो, मरमसला सुत्केरी मान्छेले खाने रसिलो पोसिलो

अह… केही छैन ।

कठोर बनिन्।

सानीलाई नलिइ जाँदा ठिक हुन्छ उनले मनमनै सोचिन् ।

तर…

मायाको टुक्रालाई कसैले माया गरेन भने ?

त्यसपछि उनले संस्थाका म्याडमहरुलाई भनिन्,‘म जस्तै माया गर्ने आमा कोही छ भने दुई छाक खान पाउने ठाउँमा बस्ने ब्यवस्था मिलाइदिनु न !’

‘तिमी पनि यही बस्ने नानीलाई पनि यही राख्ने’म्याडमले भनिन् ।

‘होइन मलाई त गाडी खुलेपछि र अलि ठिक भएपछि घर जानुछ’ त्यतिबेला सम्म छोरी यहीँ भइ भने मलाई धेरै माया लाग्छ, पछि छोड्न सक्दिन’

उनले कर गरिन् ।

आम्कासका ‘म्याडमहरुले’ बालगृह खोजे ।

फेला परिन् ‘केयर वालगृह’ की सञ्चालिका पुष्पा अधिकारी ।

संस्थाले अधिकारीसँग कागज गरेर बालिका हस्तान्तरण ग¥यो ।

‘मैले छोरी जस्तै गरेर पाल्छु पिर नलिनु भनेकी थिइ’ आँशु झार्दै र भक्कानिँदै उनले भनिन् ,‘तर त्यो आइमाइले…..’

उनी पछ्यौरीले आँसु पुछ्न थालिन् ।

तपाइँलाई के भनेर छोरी दिनु भएको थियो ?

उनी रुँदै गर्दा पत्रकारले प्रश्न सोध्छन् ।

‘पाल्छु मैले जत्तिकै माया गर्छु भनेकी थिइ…. बाक्सा मा पो …’ उनी फेरि रुन थालिन् ।

‘भनेपछि तपाईले नै छोडेर जानु भएको होइन ? तपाईले आग्रह गरेको रे अनि गरेको रे त?’ फेरि पत्रकारले प्रश्न गर्छन्

‘होइन । आफैले जन्माएको छोराछोरीलाई कसैले त्यसो गर्छ । मार्न खोज्छ त ?’ गला अवरुद्ध पार्दै उनले भन्छिन् ।

मार्ने नै भएको भए उतै(विदेश) मै मार्थे ।

उनी रुन्छिन्….

कति दुख पाएँ त्यहाँ…

तीन पटक नेपाल आउन खाजेँ, सकिन ।

पेटभरी खान पाइन ।

घरेलु कामदार भएर बसेको थिएँ, ठूलो पेट विदेशी भूमि अरु कयौं दुख सहेर जन्माएको, मार्ने भए त पहिलै…..’ उनी बोल्न सक्दिनन् ।

‘छोरी जस्तै बनाएर पाल्छु भनेर लगेकी तर झाडीमा लगिछ’ त्यस्तो पापीलाई कारबाही हुनु पर्दैन ?

उनले प्रश्न गरिन् ।

आफ्नो ‘मुटुको टुक्रा’लाई बाक्सामा राखेर भिडियो भाइरल पारेपछि उनी झस्किइन् ।

आफ्नो छोरीलाई किन झाँडीमा छोडिन् ? उनलाई त्यसको पिर परेन ।

जिउँदै छ कि छैन ?

एक मात्र पिर थियो ।

संस्थाका दिदीहरुलाई उनले कर गरिन् ।

छोरी लिन जान ।

कपनको आकाशेधारा स्थित वालगृहमा पुगेर आम्कासकी अध्यक्ष विजया राई र कार्यक्रम संयोजक जमुना गिरीले १८ साउनमा शिशु फिर्ता ल्याएका थिए ।

छोरी जिम्मा लगाएको ७ औं दिन उनले पुन छोरीलाई लिइन् ।

अँगालो मारिन्, चुमिन् ।

छोरी जिउँदै भएकोमा उनी हर्षित भइन् ।

संस्थाका दिदीहरुलाई धन्यवाद दिइन् ।

अझै पनि उनलाई छोरीको चिन्ता छ ।

‘छोरीलाई कसैलाई फेरि दिउँ भने यस्तो हुँदो रहेछ’ उनले भनिन् ।

तर पनि छोरीको भविष्य राम्रो बनाउनका लागि कसैले आफूले जत्तिकै माया गर्ने फेला पार्न पाए हुन्थ्यो भन्ने कामना उनको छ ।

सन्तान नभएका र भएर पनि सन्तानको चाहँ गर्ने कोही भए छोरी जिम्मा लगाएर गाउँ गएर दुख बिसाउने उनको योजना छ ।

तर…

मान्छेहरुलाई कसरी विश्वास गर्ने ??

तस्वीर स्रोत : पूजा फिल्मस् नामक युट्युव च्यानलबाट लिइएको हो


प्रतिक्रिया दिनुहोस्
https://www.dainikonline.com/feed/rdf/