चौरमा फेला परेकी शिशुकी आमा चितवनकी, कागज गरेर बालिका बुझाएपनि पुष्पाले गरिन् यस्तो ‘नाटक’ !

प्रकाशित मिति : श्रावण २१, २०७७ बुधबार


काठमाडौं । एक साता अघि कपनको आकाशेधाराको चउरमा कार्टुनमा बेबारिसे अवस्थामा फेला परेकी भनिएकी बालिकालाई योजनावद्ध रुपमा लगिएको तथ्य सार्वजनिक भइसकेको छ ।

चौरको नजिकै रहेको केयर बाल गृहका बालबालिकाले खेल्ने क्रममा कार्टुनमा शिशुलाई देखेपछि वालगृह सञ्चालिका पुष्पा अधिकारीलाई खबर गरेका थिए र उनले आफूले बालिकाकालाई संरक्षण दिने बताएकी थिइन् ।

बालिका भेटेको भिडियो सार्वजनिक भएर भाइरल भएसँगै उनलाई बालिकाको रेखदेख र पालन पोषणका लागि भन्दै देश विदेशबाट आर्थिक सहयोग पनि प्राप्त भएको थियो ।

बालिका बेबारिसे फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरीले उक्त बालिका बेबारिसे नभएको तथ्य फेला पारेको थियो ।

नाटक मञ्चन गरेर बालिकालाई योजनाबद्ध रुपमा चौरमा लगेर राखेपछि बालगृह सञ्चालिका भुसालले दिएको एक अन्तवार्तामा आफूलाई बालिकाको आमा पक्षले गरेको आग्रह अनुसार यस्तो गरेको बताएकी थिइन् ।

बालगृहकी सञ्चालक पुष्पा अधिकारीले शिशु फाल्ने र आफूले लिने बारेमा भने आफूले नाटक गरेको इमेज समाचारसँगको कुराकानीमा बताएकी थिइन् ।

‘बच्चाको आमाको अति नै बाध्यता रहेछ । उ बाहिरबाट कसरी आएको मलाई केही थाहा छैन। यस्ता केसहरु धेरै आउँछ । तर मैले कसैलाई पनि स्वीकारदिन । किनभने यहाँ भएको बच्चालाई असर पर्छ भनेर’ उनले भनेकी थिइन्,‘तर उहाँहरुबाट त्यस्तै गरिदिनु भन्नु भएकोले मैले गरेको हो ।’

शुरुमा बालिकाको आमाले आफूलाई बच्चा दिएपछि त्यहाँ लगेर राखिदिएको उनले बताइन् । बच्च राखेर वरबाट हेरेको उनले बताइन् ।
आफूले एक जना महिलालाई बचाउनका लागि यस्तो गरेको अधिकारीको दाबी थियो ।

‘एकजना महिलालाई बचाउनका लागि, म पनि महिला भएको कारणले गर्दा महिलालाई बचाउनका लागि मैले त्यति गरेको हो’उनले भनेकी थिइन् ।

बालिकालाई बेच्ने हिसावले वा पैसा कमाउनका लागि केही बार्गेनिङ नभएको बालगृह सञ्चालिका अधिकारीको दाबी थियो ।

आमालाई थाहा नदिई कार्टुनमा राखियो

उनले आमाको आग्रहमा बालिकालाई कार्टुनमा राखेको भनेको भएपनि त्यसमा सत्यता नरहेको पाइएको छ । प्रहरी र राष्ट्रिय बाल परिषद्को अनुसन्धानबाट अआप्रवासी कामदार महिला समूह(आम्कास) ले उक्त बालगृहलाई शिशु जिम्मा लगाएको फेला परेको छ ।

आम्कासकी कार्यक्रम संयोजक जमुना गिरीले १२ साउनमा बालगृह सञ्चालिका अधिकारीलाई शिशु जिम्मा लगाएको अनुसन्धानबाट खुलेको छ ।

यसरी बालिका हस्तान्तरण गर्दा दुई पक्षबीच लिखित सम्झौतासमेत भएको थियो ।

तर अधिकारीले अम्कासले बालगृहलाई जिम्मालगाएको शिशु बाक्सामा राखेर चौरमा लगेर छोडेको र भिडियो खिचेर भाइरल बनाएको पाइएको छ ।

बालिकाकी आमा चितवनकी

परिषद्का अनुसार चितवनकी ३८ वर्षीया महिलाले उक्त शिशुलाई साउन ६ मा जन्म दिएकी थिइन् । सुत्केरी बेथालागेपछि उनी ४ साउनमा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् र ६ साउनमा उनले शिशु जन्माइन् ।

वैदेशिक रोजगारीका क्रममा दुबई गएकी उनी सरकारी उद्धार उडान मार्फत असार ८ गते नेपाल आएकी थिइन् । उद्धार गरेर ल्याइएकी उनी घर जान सक्ने अवस्थामा थिइनन् । बसुन्धारास्थित होल्डिङ सेन्टरमा बसेकी उनलाई महाराजगन्जस्थित अम्कासको सेल्टरमा नेपाली सेनाको समन्वयमा राखिएको थियो ।

परिषद्की कार्यक्रम व्यवस्थापक भुसालले जन्मेको शिशु घर लैजान सक्ने अवस्था नभएपछि बालगृहको जिम्मा लगाइएको अनुसन्धानबाट खुलेको बताइन् ।

‘वैदेशिक रोजगारका क्रममा विदेशमा रहेकी महिलालाई कोरोना महामारीपछि उद्धार गरी नेपाल ल्याइयो । तर, घर जान सक्ने अवस्था भएन । सोही क्रममा बच्चा जन्मियो । बच्चालाई जिम्मा लिने अवस्था पनि भएन । पाल्छु भनेर बालगृह आएपछि अम्कासले जिम्मा लगाएर पठाएको देखिन्छ,’ उनले भनिन् ।

शिशु जन्मिएपछि आमा र बच्चा दुवैको अवस्था सामान्य थियो । अस्पतालले ९ साउन डिस्चार्ज गरेपछि अम्कासले दुवैलाई सेल्टरमा लिएर गयो । अम्कास र केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीबीच त्यसअघिदेखि नै कुरा भइरहेको थियो । आमा र बालगृहको मञ्जुरीनामाको कागजात बनेपछि १२ साउनको बिहान पुष्पा शिशु लिएर बालगृह फर्केकी थिइन् ।

विहान बालिकालाई लिएर आएकी पुष्पाले दिउसो बालिकालाई बेबारिसे बनाउने आइडिया लगाइन् र त्यसबाट रकम कमाउन सकिने उनको सोच थियो ।

त्यसपछि उनले साँझ ६ बजेतिर बालिकालाई कार्टुनमा राखेर चौरमा छोडिन् र योजना अनुसार बालबालिकालाई खेल्न पनि पठाइन् ।

त्यसपछि बालगृहकी एक जना सदस्यले उक्त भिडियो खिचन् । जुन भिडियो भाइरल भयो । धेरै मानिसले पुष्पामाथि साहानुभुति राखे र पैसा पनि दिए ।

तर आफूले कागज गरेर दिएको बालिकालाई पुष्पाले बेबारिसे भन्दै भिडियो भाइरल गराएपछि अम्कासकी अध्यक्ष विजया राई र कार्यक्रम संयोजक जमुना गिरी १८ साउनमा बालगृह पुगेर शिशु फिर्ता ल्याएका थिए । अहिले आमा र शिशु दुवै अम्कासको सेल्टरमा छन् । पुष्पाले योजनाबद्ध रुपमा यस्तो कार्य गरेसँगै प्रहरी र राष्ट्रिय बाल परिषद्ले थप अनुसन्धान गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्
https://www.dainikonline.com/feed/rdf/