बाक्सामा फेला परेकी बालिकालाई आमाले लगिन्, चौरमा राख्न गरिएको थियो यस्तो ‘नाटक’

प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार


प्राप्तिकालाई लैजादै गरेकी आमाको सीसीटीभी फुटेज

काठमाडौं । एक साता अघि कपनको आकाशे धाराको चउरामा एउटा कार्टुनमा बालिका फेला परेको भिडियो भाइरल बन्यो ।

उक्त भिडियोमा देखिए अनुसार एक कार्टुनमा रहेकी बालिका खेलिरहेकी थिइन् ।

सुकिलो लुगा लागाइएकी बालिकालाई कसैले चौरमा ल्याएको छोडेको भिडियोबाट बुझ्न सकिन्थ्यो ।

नजिकै रहेको ‘केयर बाल गृह’ का बालबालिका खेल्न उक्त चउरमा जाने गरेका थिए । त्यसदिन उनीहरुले काटुर्नमा बालिकालाई देखे ।

‘कति क्युट’ यसलाई हाम्रो घर लैजाउ भन्दै उनीहरुले आमालाई बोलाए ।

आमा अर्थात् केयर बाल गृहकी सञ्चालिका पुष्पा अधिकारीले उक्त बच्चालाई आफूले संरक्षण दिने बताइन् ।

फेला परेकी बालिकाको नाम उनले प्राप्तिका राखिन् र बालिका फेला परेको र आफूले राखेको बारे प्रहरीलाई जानकारी दिएको बताइन् । उनले कसैले दाबी गर्न आए बालिका जिम्मा लगाउने पनि बताएकी थिइन् ।

भिडियो भाइरल भएपछि बाल गृह सञ्चालन गरिरहेकी अधिकारी चर्चामा आइन् ।

उनलाई भेट्न र युट्युवमा भिडियो बनाउनेको केही दिन भीड नै लाग्यो ।

मनकारी मानिसहरुले बालबालिकालाई आर्थिक सहयोग पनि गर्न थाले ।

वालगृह सञ्चालन गर्दा आइपरेका समस्या र नजिकका छिमेकीले आफ्ना बालबालिका माथि गरेको व्यवहार बारे पनि उनले अन्तर्वार्ताहरु दिइन् । वाहावाहा कमाइन् ।

तर….

बाक्सामा भेटिएकी भनिएकी बालिका योजनावद्ध रुपमा चौरमा लगेर छोडिएका समाचारहरु सार्वजनिक भएका छन् ।

चौरमा बालिका फेला परेको भिडियो भाइरल भएपछि प्रहरीले अनुन्धान थालेको थियो ।

प्रहरी अनुसन्धानमा उक्त बालिकाकी आमा फेला परिन् ।

प्रहरी अनुसन्धानका अनुसार विदेशबाट आएकी एक महिलाले उक्त बालिकालाई बाक्सामा राखेर उक्त चौरमा छोडेकी थिइन् ।

महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार आमा फेलापरेसँगै बालिकाको जिम्मा लागाइएको छ ।

डीएसपी केसीले भने, ’आमा केही समयअघि विदेशबाट आएकी हुन्। विदेशबाट आएकी आमाले बच्चा लुकाउन खोज्दा यस्तो भएको देखिन्छ।’

शिशुकी आमा हालै सरकारले गरेको उद्धार उडान मार्फत नेपाल आएकी थिइन् ।

काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको विवरण भने गोप्य राखिएको छ ।

किन बालिकालाई छोडियो झाडिमा ?

वैदेशिक रोजगारीबाट हालै फर्किएकी उनी राजधानीको कुनै संस्थामा आश्रय लिएर बसिरहेकी छिन् ।

परिवारलाई खबर नगरि बसेको समयमा शिशु जन्मिएपछि सहयोगी मार्फत उनको केयर बाल गृहकी सञ्चालक पुष्पासँग भेट हुन्छ । र उनकै मिलेमतोमा साउन १२ गते नाटक मञ्चन गरि ति शिशुलाई कार्टुनमा राखी चौरमा छोडेको खुलासा भएको हो ।

घटना सार्वजनिक भएसँगै प्रहरीले बालगृह सञ्चालक अधिकारी र ति शिशुकी आमालाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको थियो ।

बालगृहकी सञ्चालक पुष्पा अधिकारीले शिशु फाल्ने र आफूले लिने बारेमा भने आफूले नाटक गरेको इमेज समाचारसँगको कुराकानीमा बताएकी छिन् ।

‘बच्चाको आमाको अति नै बाध्यता रहेछ । उ बाहिरबाट कसरी आएको मलाई केही थाहा छैन। यस्ता केसहरु धेरै आउँछ । तर मैले कसैलाई पनि स्वीकारदिन । किनभने यहाँ भएको बच्चालाई असर पर्छ भनेर’ उनले भनिन्,‘तर उहाँहरुबाट त्यस्तै गरिदिनु भन्नु भएकोले मैले गरेको हो ।’

शुरुमा उहाँले आफूलाई बच्चा दिएपछि त्यहाँ लगेर राखिदिएको उनले बताइन् । बच्च राखेर वरबाट हेरेको उनले बताइन् ।
आफूले एक जना महिलालाई बचाउनका लागि यस्तो गरेको अधिकारीको भनाइ छ ।

‘एकजना महिलालाई बचाउनका लागि, म पनि महिला भएको कारणले गर्दा महिलालाई बचाउनका लागि मैले त्यति गरेको हो’उनले भनिन् ।

बालिकालाई बेच्ने हिसावले वा पैसा कमाउनका लागि केही बार्गेनिङ नभएको बालगृह सञ्चालिका अधिकारीले बताइन् ।

शिशुकै आमाको मिलेमतोमा घटना तयार पारिएको भन्दै कतिपयले अहिले आमा र संस्थाकी सञ्चालिका अधिकारीलाई गाली गरिरहेका छन् ।

जन्मदैको शिशुलाई आमाकै मिलेमतोमा झाडीमा फालेर पैसा कमाउने धन्धा थियो वा के थियो भन्ने बारे भने प्रहरीले अनुसन्धानले थप प्रस्ट पार्ने छ ।


प्रतिक्रिया दिनुहोस्
https://www.dainikonline.com/feed/rdf/