मोरङको रंगेलीमा एकै परिवारका १४ सहित २२ जनामा कोरोना, बजार क्षेत्र बन्द

प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार


मोरङ । मोरङको रंगेली नगरपालिकामा एकै परिवारका १४ सहित २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएपछि स्थानीय तहले मोरङको रंगेली बजार मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरेको छ । रंगेली नगरपालिकाले अर्को सूचना नहुन्जेलसम्मका लागि अस्पताल पनि पूर्ण रुपमा बन्द गरेको छ ।

कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

सोमबार आएको पीसीआर रिपोर्टमा उक्त परिवार बाहेक विद्युत प्राधिकरण रंगेली शाखाका पाँच र अस्पतालका तीन कर्मचारी समेत २२ जनामा कोरोना पुष्टि भएको हो ।

नगरपालिकाद्वारा जारी विज्ञप्तिमा रंगेली बजारको पूर्वमा मधुवनी चोक र पिपल चोकदेखि सुनवर्षी नगरपालिकाको सीमाना, पश्चिममा चिस्याङ खोला, उत्तरमा निचामारी बक्राहा खोला पुल र दक्षिणमा भन्सार गेटसम्म पर्ने वडा नम्बर ६, ७ र ८ को एरिया सोमबार मध्यराति देखि अर्को सूचना प्रकाशित नहुन्जेल सिल गरिएको उल्लेख छ ।

रंगेली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.रोहेन्द्र पाण्डेले संक्रमितहरुको उपचारको प्रबन्ध, उनीहरुको सम्पर्कमा आएका झन्डै २ सय जनाको स्वाब परीक्षण र क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने भएकोले बजार, अस्पताल एवं कार्यालयहरु बन्द गरिएको बताए ।

नगरपालिकाद्वारा जारी विज्ञप्तिमा अस्पतालको इमरजेन्सी सेवाहरु समेत २० साउनदेखि अर्का सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिएको उल्लेख छ ।

स्वास्थ्यसँग सम्बन्धित सेवाहरु बाहेक नगरपालिका तथा वडा कार्यालयहरुबाट दिइने सेवाहरु समेत मंगलबारदेखि अर्को सूचना नभएसम्मका लागि बन्द रहेको विज्ञप्तिमा भनिएको छ ।

रंगेली बजारमा मंगलबार बिहानदेखि नै घरबाट ननिस्कनलाई माइकिङ गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्
https://www.dainikonline.com/feed/rdf/