मलेसियामा नेपाली सुरक्षा गार्डमाथि निर्घात कुटपिट गर्ने व्यक्ति पनि नेपाली नै !

प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार


काठमाडौं । मलेसियामा ड्युटीमा रहेका नेपाली सुरक्षा गार्डमाथि निर्धात कुटपिट गर्ने व्यक्ति पनि नेपाली नै भएका खुलेको छ ।

नेपाली सुरक्षा गार्ड कुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मलेसियास्थित नेपाली दूतावासले गरेको छानबिनका क्रममा कुटपिट गर्ने व्यक्ति पनि नेपाली नै भएका खुलेको हो ।

सामाजिक सञ्जालमा भाइरसल करिब ४४ सेकेन्डको भिडियोमा एकजना व्यक्तिले ड्युटीमा रहेका सुरक्षा गार्डमाथि निर्घात कुटपिट गरिरहेका छन् । उनले मलाय भाषामा सुरक्षा गार्डलाई गाली समेत गरिरहेका भिडियोमा सुनिन्छ ।

भिडियोमै एकजना व्यक्ति (सम्वतः भिडियो खिच्ने)ले हिन्दी भाषामा ‘भयो अब छोडिदेऊ’ भनेको पनि सुनिन्छ ।

कुटाइ खाने कामदारलाई अहिले मलेसियास्थित नेपाली दूतावासले आफ्नो आश्रयस्थलमा ल्याएर राखेको छ । यस्तै, कुटपिट गर्ने व्यक्तिसँग पनि सम्पर्क गर्ने प्रयास भइरहेको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

कुटाइ खाने कामदार (गार्ड)का आफन्तले नेपालबाट खबर गरेपछि दूतावासले उनलाई आश्रयस्थलमा ल्याएको हो ।

दूतावासले स्थानीय प्रहरीमा घटनाबारे प्रारम्भिक उजुरी दिइसकेको जनाएको छ । तर, त्यहाँको प्रहरीले कानूनी कारबाही अगाडि बढाउन ‘औपचारिक उजुरी’का लागि आग्रह गरेका कारण सोमबार औपचारिक उजुरी दर्ता गरिने दूतावास स्रोतले जानकारी दिएको छ ।

आइतबार मलेसियामा सार्वजनिक बिदा हुने भएका कारण सोमबार मात्रै उजुरी दर्ता गरिने जनाइएको छ ।

दूतावास स्रोतका अनुसार सुरक्षा गार्डमाथि कुटपिट गर्ने नेपाली व्यक्ति एउटा कम्पनीमा सुपरभाइजरको रुपमा काम गर्छन् । तर, उनी गैरकानूनी रुपमा त्यहाँ बसेको पाइएको छ ।

केही समय अगाडि एउटा कम्पनीमा काम गर्दै आएका ती व्यक्ति पछि कम्पनी छाडेर अर्कोमा काम गर्न थालेका हुन् ।


मलेसियामा ‘नेपाली सुरक्षा गार्ड’माथि निर्घात कुटपिट, नेपाली दूतावासद्वारा स्थानीय प्रहरीमा उजुरी


प्रतिक्रिया दिनुहोस्