जनताको चाहना पार्टी नफुटोस् भन्ने छ : प्रचण्ड

प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको छ।

उहाँले भन्नुभयो, “आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने रहेको छ। जन चाहनालाई कदर गर्न एकतालाई उच्चस्तरमा सुदृढ गर्नुपर्छ।”

तुलसीलाल अमात्यको स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पार्टीमा बहस र विवाद हुनु सामान्य भएको बताउनुभयो।

विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस नेकपाभित्र र त्यसलाई प्रतिक्रियावादीले पद प्राप्तिको झिनाझम्टी भन्ने गरेकाले नपत्याउन उहाँले आग्रह गर्नुभयो।

अध्यक्ष दाहालले भन्नुभयो, “पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो। पद हाम्रो विषय होइन । राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौँ।”

उहाँले कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकाले बहस हुने कुरा स्वभाविक बताउनुभयो।

राजनीतिक अस्थिरता र एकताका निम्ति आफूले पद त्याग गर्दै आएको समेत स्मरण गर्दै उहाँले भन्नुभयो, “मैले संविधान बनाउने बेलामा पनि, स्थानीय तहको निर्वाचन गर्ने बेलामा पनि र गठबन्धन गर्ने बेलामा पनि पद हाम्रो विषय होइन, राष्ट्र र जनताको भविष्य स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी हो भनेर स्पष्ट पारेको छु।”

अहिलेको बहसले पार्टी फुटाउने प्रवृत्तिलाई परास्त गर्ने दाबी गर्दै उहाँले पार्टीभित्रको बहसलाई छोपछाप गर्न नहुनेमा जोड दिनुभयो।

अध्यक्ष प्रचण्ड भन्नुभयो, “अहिलेको बहस तिखो भइरहेको छ। हामीभित्रको तिखो बहस चलिरहेको छ, चिल्ला शब्द छैनन्। इतिहासको अनुभवबाट शिक्षा लिएर पार्टी एकता कायम गर्नुको विकल्प छैन।

पार्टी फुटाउने प्रवृत्ति परास्त हुन्छ, गरिनेछ। बहसले माथिल्लोस्तरमा लगेर पार्टीलाई सुदृढ गर्छ।


प्रतिक्रिया दिनुहोस्