म्याद गुज्रेका सामान बेच्ने मार्टमाथि कारवाही

प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार


भक्तपुर । भक्तपुर नगरपालिकाको अनुगमन समितिले जिल्लाका मिनीमार्टहरुको अनुगमन गरेको छ।

अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा लकडाउन खुकुलोसँगै बजार भाउ महङ्गिएको र गुन्हीपुन्ही (गाईजात्रा) लाई लक्षित गरी क्वाटीसहित खाद्य पसल अनुगमन गरेको हो।

अनुगमनका क्रममा मिनीमार्टले खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्रबिना नै जथाभावी लेवल लगाएको पाइएको छ।

म्याद गुर्जेका खाद्य सामग्री बिक्रीका लागि राखेको पाइएपछि त्यस्ता सामग्री जफत गरी नष्ट गरेका उहाँले जानकारी दिनुभयो।

साकोठास्थित भक्तपुर मिनीमार्ट, च्याम्हासिंमा रहेको नाइन स्टार सपिङ सेन्टर र नमस्ते किराना स्टोरमा गरिएको अनुगमनमा सबैले म्याद गुज्रेको सामान बिक्रीका लागि राखेको पाइएको छ।

उहाँले खुद्रा विक्रेतामा दर्ता गरेर मिनीमार्टमा चलाएको र विभिन्न खाद्य सामग्री अत्यधिक मात्रामा म्याद नाघेको बिक्रीका लागि राखेको पाइएपछि त्यस्ता सामग्री जफत गरी नष्ट गरेको बताउनुभयो।

मिनीमार्टलाई पाकेजिङ सामान गेडागुडी, दाल, चिउरालगायतमा खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्रबिना लेवल नराख्न निर्देशन दिएको र तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन तराजु जफत गरिएको छ भने कर्मचारीहरुमा एप्रोन, मास्क, पञ्जा, स्यानिटाइजरसहितको कोभिड–१९ बाट सुरक्षित रहन सुझाव दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

थपिए एक हजार ३०० मतदाता

भक्तपुरमा एक वर्षमा एक हजार ३०० मतदाता थपिएका छन्।

जिल्ला निर्वाचन कार्यालयले नयाँ दर्ता मतदाता नामावली सार्वजनिक गर्दै २०७६ भदौ ८ देखि २०७७ असार ३१ सम्ममा एक हजार ३७१ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत भीमबहादुर बिसीले जानकारी दिनुभयो।

थपिएकामा महिला मतदाता ६७३ र पुरुष मतदातामा ६९८ छन्।

नयाँं अद्यावधिक मतदाताको क्रममा जिल्लाबाट बाहिरी जिल्ला ठाउँ सार्न परेका निवेदन सङ्ख्या नौ, बाहिरी जिल्लाबाट भक्तपुर आउन परेका निवेदन ३९ र जिल्लाभित्र आन्तरिक अद्यावधिकका लागि परेका निवेदन सङ्ख्या १८ रहेको उहाँले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्