सीमामा झडप : पाकिस्तानी सेनाले गोली चलायो, १५ अफगानी मारिए

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ५ : २८


इस्लामावाद । पाकिस्तानी सेनाको गोली लागेर १५ अफगानिस्तानी नागरिकको ज्यान गएको छ।

सीमा क्षेत्रमा झडप भएपछि पाकिस्तानी सेनाले गोली चलाउँदा १५ सर्वसाधारणको ज्यान गएको हो। अफगानिस्तानको टोलो न्युजका अनुसार यस घटनामा कम्तिमा ८० जना घाइते भएका छन्।

आफ्ना नागरिकको ज्यान गएपछि अफगानिस्तानले आफ्नो सेना र वायुसेनालाई सचेत गराएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त घटना पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा दुई देशका सेनाबीच झडप भएपछि भएको हो।

अफगानिस्तानको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानी सेनाले हमला नरोके अफगान सेनाले जवाफ दिने जनाएको छ।

पाकिस्तानको परराष्ट्र मन्त्रालय र सैन्य प्रशासनले यसबारे केही बोलेको छैन तर पाकिस्तानी परराष्ट्र मन्त्री शाह मेहमूद कुरेशीले यो मुद्दाका बारे अफगान सरकारसँग छलफल हुने चाँडै समाधान हुने आशा व्यक्त गरेका छन्।

पाकिस्तान र अफगानिस्तान दुवै देश अमेरिकाका घनिष्ट सहयोगी हुन् तर दुवै देशबीच आपसी सम्बन्ध कहिल्यै राम्रो छैन।

अफगानिस्तानले वर्षौंदेखि तालिवानमाथि चरमपन्थीलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ।

पाकिस्तानले यी आरोपहरू अस्वीकार गर्दै आएको छ। पाकिस्तानले पनि अफगानिस्तानलाई आफ्नो सरकारको विरुद्ध आएका विद्रोहीलाई सहयोग पुर्‍याउँदै आएको बताउने गरेको छ।

अफगानिस्तानको दक्षिण पूर्वी प्रान्त कन्धारका गभर्नर हयातुल्लाह हयातका अनुसार पाकिस्तानबाट स्पिन बोल्दाकको आवासीय क्षेत्रमा गोलीबारी भएको छ। पाकिस्तानी सेनाको गोलीबाट २० सर्वसाधारणले ज्यान गुमाएका हुन।

एक पाकिस्तानी अधिकारीका अनुसार अफगानिस्तानमा प्रवेश गर्न पर्खिरहेको भीड अनियन्त्रित हुँदा पाकिस्तानी सुरक्षा फौजमाथि हमला गर्दा यस्तो घटना हुन गएको छ।


प्रतिक्रिया दिनुहोस्