उदयपुरको मालपोत कार्यालयका कर्मचारीमा कोरोना भाइरस संक्रमण

प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार


त्रियुगा । उदयपुरस्थित मालपोत कार्यलयका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा मालपोत कार्यालय उदयपुरका खरिदार पदमा कार्यरत ३४ वर्षीय पुरुष कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

उनी त्रियुगा नगरपालिका–९ का बासिन्दा हुन् । ४ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गरिएकोमा ३४ वर्षीय खरिदारमा कोरोना पोजेटिभ देखिएको मालपोत कार्यालयका प्रमुख नवराज खड्काले बताए ।

सामान्य ज्वरो आउने, जिउ कट–कटी खाने वताएपछि लक्षणको आधारमा उनको परिक्षण गर्दा पोजेटिभ देखिएको कार्यालय प्रमुख थापाले बताए ।

कोरोना पुष्टि भएसँगै स्थानीय प्रशासनले अर्को सुचना जारी नभएसम्मका लागि कार्यालयबाट प्रदान गरिने सबै सेवा स्थगन गरेको छ । साथै मालपोत कार्यालयल तत्कालै सिल गरिएको छ । सेवाग्राहीसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय भएकाले अनिश्चितकालका लागि सेवा ठप्प पारिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

कार्यालयको सेवा ठप्प पारेसँगै संक्रमित कर्मचारीको यात्रा विवरण सुरु गरिएको पनि उनले बताए ।

बिहीबार मात्रै बेलका नगरपालिका वडा नं ९ रामपुर बजारका दुई जना व्यवसायीमा कोरोना संक्रमण देखिएको थियो । जसमा १८ वर्षिया होटल सञ्चालक पुरुष र ३५ वर्षिया कपडा पसल सञ्चालक महिला छन् ।

संक्रमण समुदायमा फैलिन सुरु गरेसँगै स्थानीय प्रशासनले कडाई गर्न थालेको छ । यसअघि भारतबाट आएका नागरिकहरुमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय समुदायका नागरिकमा पनि देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुबेदीले बताए ।

उदयपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८८ जना पुगेको छ । बेलका नगरपालिकामा २४ जना, त्रियुगा नगरपालिकामा ५१ जना, कटारी नगरपालिकामा सातजना, चौदण्डीगढी नगरपालिकामा एकजना, उदयपुरगढी, गाउँपालिकामा दुईजना र ताप्ली गाउँपालिकामा तीनजनामा कोरोना संक्रमण देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्