साढे १४ किलो चाँदीमा जलप लगाएर ‘सुन’ बनाउने व्यक्ति पक्राउ

प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार


काठमाडौं । गत मंगलबार बिहान काठमाडौंको कमलादीबाट सुनजस्तो देखिने पहेँलो धातु बरामद प्रकरणमा फेरि १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले साढे १४ किलो चाँदीमा सुनको जलप लगाउने व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा न्यूरोडस्थित एउटा गहना पसलमा काम गर्ने कालिगढ मनिष मल्लिक रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

परिसर स्रोतका अनुसार उनले साढे १४ किलो चाँदीमा जलप लगाएर सुनजस्तो देखिने ढिक्का बनाएका थिए ।

प्रहरीले मंगलबार बिहान काठमाडौंको कमलादीबाट सुनजस्तै देखिने १५ किलो पहेँलो धातु बरामद गरेको जनाएको थियो ।

उक्त धातु परीक्षणका त्रममा आधा किलो मात्रै सुन निस्किएको थियो भने साढे १४ किलो चाँदी निस्किएको थियो । साढे १४ किलो चाँदीमा जलप लगाएर सुनजस्तो देखिने बनाइएको पाइएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौं र दरबारमार्ग बृत्तको टोलीले हात्तीसार चोकको चेकिङ छलेर गएको स्कार्पियो गाडीलाई फलो गर्दा गाडीमा सवार व्यक्तिले कमलादीको नबिल बैंक अगाडि सडकमा पुगेर गाडीबाट झोला फालेको र झोलामा १५ किलो पहेँलो धातु र २ थान पेस्तोल बरामद भएको भन्दै प्रहरीले मंगलबार नै पत्रकार सम्मेलन गरेको थियो ।

तर, घटनामा प्रहरीकै भूमिका शंकास्पद लागेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आन्तरिक रुपमा छानबिन गर्न समिति नै गठन गरेको थियो ।

रानीपोखरीको छानबिन समितिले गरेको अनुसन्धानका क्रममा महानगरीय प्रहरी बृत्त दरबारमार्गका तत्कालीन प्रमुख डीएसपी रञ्जन दाहाललगायतको भूमिका शंकास्पद देखिएको थियो ।

डीएसपी दाहाल जिम्मेवारीबाट हटाइएका छन् । यस्तै, दरबारमार्ग बृत्तबाट सादा पोषाकमा खटिने प्रहरी जवान प्रशन्न श्रेष्ठको डेराबाट प्रहरीको छानबिन समितिले सुनजस्तै देखिने १ किलो पहेँलो धातु बरामद गरेको छ ।


प्रतिक्रिया दिनुहोस्