भारतीय विमानसँग चिनियाँ विमानको तुलना हुँदैन : विज्ञ

प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार


काठमाडौं । भारतले फ्रान्सबाट किनेका राफेल लडाकु विमान आफ्ना विमानसँग तुलना हुन नसक्ने चीनले जनाएको छ।

आधुनिक लडाकु विमान भित्र्याएपछि भारतमा खुशीयाली मनाईदैछ।

उक्त विमान भारत पुगेपछि भारतीय वायुसेनाको क्षमता एकाएक बढेको टिप्पणी भइरहेको छ।

अब भारत पाकिस्तानभन्दा शक्तिशाली बनेको र चीनसँग टक्कर दिने अवस्थामा पुगेको भारतीय विज्ञहरुकोे टिप्पणी छ।

कतिपय भारतीय विज्ञले चीनको जे-२० भन्दा राफेल लडाकु विमान शक्तिशाली रहेको बताएका छन्।

राफेललाई भारतको अहिलेसम्मकै सबैभन्दा अत्याधुनिक र शक्तिशाली युद्धक विमान मानिन्छ।

चीनसँग भने सुखोइ एसयू–२७, एसयू–३० एमकेके, एसयू–३५ एस, छेन्दु जे–७, छेन्दु जे–१० जस्ता युद्धक विमानहरु छन्।

चीनको छेन्दु जे–ट्वान्टी विमानलाई भने सबैभन्दा परिस्कृत विमानको रुपमा लिइएको छ।

भारतका पूर्व हवाई सेना प्रमुखले एक भारतीय सञ्चार माध्यममा राफेल जे-२० भन्दा  शक्तिशाली भएको बताएपछि चिनियाँ विज्ञले राफेलसँग जे-२० को तुलना हुननसक्ने प्रतिक्रिया दिएका छन्।

चिनियाँ विज्ञका अनुसार राफेल ‘थर्ड प्लस जेनेरेसनको’ लडाकु विमान हो भने जे-२० ‘फोर्थ जेनेरेशनको’ लडाकु विमान हो।

जेनेरेशनको फरकले पनि दुई देशका विमानबीच कुनै तुलना नहुने र चिनियाँ विमान शक्तिशाली रहेको विज्ञले जनाएका छन्।

‘लडाकु जेटमा ‘जेनेरेशनको ग्यापले ठूलो फरक पार्छ भन्ने कुरा सामान्य मान्छेलाई पनि थाहा हुन्छ’, चिनियाँ सैन्य विज्ञलाई उदृत चिनियाँ सरकारी अखबार गोल्बल टाइम्सले लेखेको छ, ‘चीनको जे-२० राफेलभन्दा धेरै शक्तिशाली र उन्नत छ।’

जे–ट्वान्टीको लम्बाई २०.४ मिटर हो भने राफेलको लम्बाई १५.२७ मिटर हो। चौडाइमा पनि जे–ट्वान्टी ठूलो छ। यसको चौडाई १३.५ मिटर छ भने राफेलको चौडाई १०.८ मिटर छ।

यो पनि पढ्नुहोस

भारतले राफेल विमान भित्र्याएकै दिन चीन झन् शक्तिशाली!

राफेल आइपुगेपछि राजनाथ सिंहले बताए, अब कसले चिन्ता लिनुपर्छ


प्रतिक्रिया दिनुहोस्