मलेसियामा ‘नेपाली सुरक्षा गार्ड’माथि निर्घात कुटपिट, नेपाली दूतावासद्वारा स्थानीय प्रहरीमा उजुरी

प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार


काठमाडौं । मलेसियामा नेपाली भनिएका एक सुरक्षा गार्ड कुटिएको भिडियोबारे मलेसियास्थित नेपाली दूतावास ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले घटनाबारे प्रारम्भिक जानकारी लिएर आवश्यक छानबिन र कारबाहीका लागि मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी दिएको पनि जनाएको छ ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । जसमा एकजना सुरक्षा गार्डमाथि निर्घात कुटपिट गरिएको देखिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले कुटिएका सुरक्षा गार्ड नेपाली भएको बताएका छन् । तर, उनी नेपाली नै हुन् वा अन्य कुनै देशका नागरिक हुन् भन्नेबारे स्पष्ट भइसकेको छैन ।

नेपाली दावी गर्दै सामाजिक संजालमा भिडियो भाइरल भएपछि क्वलालम्पुरस्थित नेपाली दूतावासले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको हो । केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ ।

भिडियोमा एक व्यक्तिले निर्घात रुपमा युनिफर्ममा रहेका (ड्युटीमा रहेका) एक सुरक्षा गार्डलाई कुटेको देखिन्छ । अहिले त्यो भिडियोलाई विशेषतः विदेशमा बस्ने नेपालीहरुले सामाजिक सञ्जालमा मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुटिएको भनेर शेयर गरिरहेका छन् ।

भिडियोमा मलेसियन भाषा बोल्ने एक व्यक्तिले सुरक्षा गार्डलाई ‘तैँले आफूलाई के ठान्छस्, तँ यहाँ काम गर्न आको हो कि के गर्न ?’ भन्दै निर्घात रुपमा कुटेको देखिन्छ । तर, कुटाइ खाने ती सुरक्षा गार्डले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।

सामाजिक सञ्जालमा नेपाली भनेर भिडियो भाइरल भएपछि दूतावासले आवश्यक छानविन सुरु गरेको मलेसियास्थित नेपाली दूतावासले उल्लेख गरेको छ ।

‘मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरेको सामाजिक संजालमा आएको भिडियो सम्बन्धमा नेपाली राजदूतावास क्वालालम्पुरको गम्भीर ध्यानाकर्षण भएको छ । सो घटनाको थप अनुसन्धानका निम्ति राजदूतावासको पहलमा मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको छ । साथै यस विषयमा थप जानकारी भएमा हाम्रो इमेल ठेगाना eonkualalumpur@mofa.gov.np वा हाम्रो हटलाइन नम्बर ०१६२४७२७७७ मा सम्पर्क गर्नुहुन समेत अपिल गर्दछौं,’ मलेसियास्थित नेपाली दूतावासले भनेको छ ।


प्रतिक्रिया दिनुहोस्