जगदम्बा इन्टरप्राइजेजका सीईओसहित कोरोनाबाट एकै दिन तीन जनाको मृत्यु

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ९ : ०६


पर्सा । कोरोना भाइरस संक्रमणका कारण जगदम्बा इन्टरप्राइजेजका सीईओको ज्यान गएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनी भारतीय नागरिक हुन् ।

कोरोना अस्पतालका इञ्चार्ज डा. निरजकुमार सिंहका अनुसार उनी लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित थिए । उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो । संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए ।

यसअघि वीरगञ्ज महानगरपालिका १६ नगवाका ३५ वर्षीय पुरुष र वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको मृत्यु भएको थियाे । नगवाका ३५ वर्षीय पुरुषको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा साँझ पौजे ८ बजेतिर मृत्यु भएको थियाे ।

यसैबीच बिहीबार बिहान घरमै मृत्यु भएका वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । घरमै मृत्यु भएको खबर आएपछि नारायणी अस्पतालको टोलीले उनको स्वाब संकलन गरेको थियो । बिहीबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको कोरोना अस्पतालले जनाएकाे छ ।

वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा अहिले ६१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उपचारको क्रममा रहेकामध्ये ६० प्रतिशत बिरामीमा कोरोनाको लक्षण देखिएको बताइएकाे छ ।

साउनयता पर्सामा कोरोना संक्रमणले १० जनाको मृत्यु भइसकेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्