पास लिएर उपत्यका भित्रिनेमा पनि संक्रमण भेटियो

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ८ : ०६


काठमाडौं । बाहिरबाट आउँदा परीक्षण गरि पास लिएर काठमाडौं भित्रिएका हरुमा पनि कोरोना संक्रमण पाइएको छ।

स्वास्थ्य मन्त्रालयले काठमाडौं प्रवेश गर्ने ३ नाकामा स्वाब लिएका मध्ये २४ जनामा संक्रमण फेला परेको जनाएको छ।

पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा कोरोना संक्रमणका घटना बढ्दै गएको छ।

राजधानी उपत्यका भित्रिनेहरुले जिल्लाबाट आउँदा कोरोना परीक्षण गरि पास बनाएर आउँदा पनि संक्रमित देखिएको हो।

मन्त्रालयका अनुसार थानकोट, फर्पिङ र साँगाबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो।

ट्राभल हिस्ट्री नभएकाहरुमा समेत कोरोना भेटिनुले समुदायस्तरमा कोरोना फैलिएको आशंका गरिएको छ।

देशभर पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा छ हजार ३०४ जनाको नमूना परीक्षण गर्दा २७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए।

यो सँगै सङ्क्रमितको सङ्ख्या १९ हजार ५४७ पुगेको छ । नेपालमा हालसम्म पीसीआर विधिबाट तीन लाख ६४ हजार ६४८ जनाको परीक्षण भएको छ।

एकैदिन २२७ जना डिस्चार्ज

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २२७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या १४ हजार २४८ पुगेको छ।

उनका अनुसार १३ हजार १०२ जना क्वारेन्टिनमा र पाँच हजार २२७ जना आइसोलेशनमा रहेका छन् । मुलुकभर पाँच हजार २२७ सक्रिय सङ्क्रमित छन्।

कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५२ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा थप तीन जना सङ्क्रमितको मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए।

काठमाडौं उपत्यकामा थप ४५ सङ्क्रमित पुष्टि

काठमाडौँ उपत्यकाकामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४१ तथा भक्तपुर र ललितपुरमा दुई÷दुई जना गरी ४५ जनामा सङ्क्रमण देखिएको हो।


प्रतिक्रिया दिनुहोस्