राप्रपाले लियो आइडियुको सदस्यता

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ६ : ४३


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्वद्र्धनवादी राजनीतिक दलहरुको छाता सङ्गठन इन्टरनेशनल डेमोक्राटिक युनियन (आइडियु)को सदस्यता प्राप्त गरेको छ।

क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफन हार्परको अध्यक्षतामा बसेका युनियन कार्य समितिको भर्चुअल बैठकले सदस्यता दिने निर्णय गरेको राप्रपाका नेता राजाराम बर्तौताले जानकारी दिनुभयो।

राप्रपालाई सदस्यता दिने अष्ट्रेलियाका सत्तारुढ दल लिवरल पार्टी अफ अष्ट्रेलियाले गरेको प्रस्तावलाई माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिरले समर्थन जनाउनुभएको थियो।

विश्वका ७६ कन्जरभेटिभ राजनीतिक दलका प्रतिनिधि सम्मिलित उक्त बैठकमा राप्रपा अध्यक्ष कमल थापा सहभागी हुनुहुन्थ्यो।

बैठकमा अध्यक्ष थापाले संसारका सबै मुलुकको आर्थिक विकास, शान्ति र स्वतन्त्रतामा विश्वास राख्दै प्रजातन्त्र, स्वतन्त्रता र मानवअधिकारका क्षेत्रमा एकता र सहकार्यको आवश्यकता औँल्याउनुभएको राप्रपाले जानकारी दिएको छ।

संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसिमा आयोजना हुने उक्त बैठक कोभिड–१९ का कारण भर्चुअलमा परिणत भएको थियो।

बैठकले नेपालसहित युक्रेन, स्वीडेन, अल्वानिया र नाइजेरियाका राजनीतिक दललाई सदस्यता प्रदान गरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्