नवनियुक्त एआईजीलाई गृहमन्त्रीको निर्देशन : इमान्दारीताका साथ काम गर्नु

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ५ : ४६


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई इमान्दारीताका साथ काम गर्न निर्देशन दिएका छन् ।

बिहीबार गृह मन्त्रालयमा नवनियुक्त एआईजीहरु निरज शाही र प्रधुम्न कार्कीलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री बादलले राज्यले विश्वास गरेर जिम्मेवारी दिएको उल्लेख गर्दै इमान्दारीताका साथ काम गर्न निर्देशन दिए ।

गृहमन्त्री बादलले भने, ‘राष्ट्रले विश्वास गरेर तपाईंहरुलाई यो जिम्मेवारी दिएको छ, आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक, दृढतापूर्वक र सृजनात्मक ढंगले निर्वाह गर्नुहोला ।’

गृहमन्त्री थापाले एआईजीद्वय शाही र कार्कीलाई टिम वर्कमा ध्यान दिन पनि सुझाव दिए । शान्ति, सुरक्षा,अमनचयन कायमगर्न दुवै जनाको भूमिका महत्वपूर्ण हुने पनि गृहमन्त्री बादलले अपेक्षा गरे ।

गृहमन्त्री बादलले प्रहरी समायोजन र संगठन तथा व्यवस्थापन (ओएनएम)को सम्बन्धमा बुधबार प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न समन्वय समितिको बैठकमा मोटामोटी विषय टुंगो लागेकाले प्रहरी समायोजनको काम छिट्टै शुरु हुने पनि बताए । अब प्रहरीले संघीय संरचना र व्यवस्थाअनरुप काम गर्ने गृहमन्त्री थापाको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्