विद्यालय क्षेत्रमा क्वारेन्टाइन बनाउन रोक लगाउने निर्णय

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ३ : ५४


काठमाडौं । सरकारले विद्यालय भवन र परिसरमा क्वारेण्टीन बनाउन नपाइने निर्णय गरेको छ।

बिहिबार सरकारका पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले विद्यलय क्षेत्रमा क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाउन नपाईने निर्णय भएको जानकारी दिए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाएका विद्यालयलाई स्थानीय प्रशासनले निर्मलीकरण गर्दै जानुपर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए।

विद्यालय परिसरभित्र विद्यार्थीको आवगमनमा प्रतिकूल पर्नेगरी कोरोना र रोकथाम तथा नियन्त्रणसम्बन्धी कुनै पनि संरचना नबनाउने र गतिविधि नगर्ने सरकारको निर्णय छ।

प्रवक्ता खतिवडाले शैक्षिक सत्र २०७६र७७ का परीक्षाको बाँकी नतिजा प्रकाशन गर्ने, भदौ १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने, पाठ्यपुस्तक उपलब्ध गराउने, कक्षागत विद्यार्थीको संख्या एकीन गर्ने क्याबिनेटले गरेको जानकारी दिए।

शिक्षा मन्त्रालयले लकडाउनका कारण रोकिएका विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनका लागि बुधबार ७ बुँदे निर्देशन दिइसकेको छ।

सरकारले भदौ १ गतेदेखि भर्ना खोल्ने निर्णय यसअघिनै गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्