‘एमसीसीको पक्षमा बोले टाउको काट्छु’ भन्दै मन्त्री भट्टलाई धम्की !

प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको पक्षमा लागेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री भट्टले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताएका हुन् ।

एमसीसीको पक्षमा आफूले बोल्दै आएकाले ज्यान मार्ने धम्की आएको भट्टको भनाइ छ ।

‘मलाई बझाङबाट फोन गरेर एकजनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिनु भएको छ’ उनले भने, ‘मैले एमसीसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दा उहाँले थाहा छैन भन्नु भयो ।’

समितिमा नेटवर्किङ बिजनेश बारेको छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् । अहिले नेटवर्किङ व्यवसायमा पनि एमसीसीमा जस्तै मान्छेले बुझ्दै नबुझी विभिन्न टिकाटिप्पणी गरिरहेको उनले दावी गरे ।


प्रतिक्रिया दिनुहोस्