ललितपुरको नख्खीपोटमा भेटियो कमलादीमा ‘सुन’ र पेस्तोल फालेर भागेको गाडी !

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ३ : ०९


काठमाडौं । काठमाडौंको कमलादीमा ‘सुन’ र हतियारसहितको झोला फालेर भागेको भनिएको स्कार्पियो गाडी ललितपुरको नख्खीपोटमा भेटिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार मंगलबार बिहान कमलादीको नबिल बैंक अगाडि सुनजस्तो देखिने पहेँलो धातु र २ थान पेस्तोल भएको झोला फालेर भागेको भनिएको बा ६ च ५५११ नम्बरको स्कार्पियो नख्खीपोटमा भेटिएको हो ।

प्रहरी स्रोतका अनुसार नख्खीपोटको एउटा निर्माणाधीन घरमा लुकाइएको अवस्थामा गाडी फेला परेको हो ।


साढे १४ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै भूमिका शंकास्पद


महानगरीय प्रहरी परिसर काठमाडौं र दरबारमार्ग बृत्तको टोलीले मंगलबार बिहान काठमाडौंको कमलादीबाट सुनजस्तो देखिने १५ किलो पहेँलो धातु बरामद गरेको जनाएको थियो । पछि प्रयोगशाला परीक्षणका क्रममा आधा किलो मात्रै सुन भएको पाइएको थियो भने साढे १४ किलो चाँदी भएको पाइएको थियो ।

प्रहरीले १५ किलो पहेँलो धातु फेला पारेको झोलाबाट २ थान पेस्तोल पनि बरामद भएको जनाएको थियो ।

हात्तीसार (कृष्ण पाउरोटी) चोकको चेकिङ छलेर आएको बा ६ च ५५११ नम्बरको स्कार्पियो गाडिको पिछा गर्दा गाडीमा रहेका व्यक्तिले कमलादीको नबिल बैंक अगाडि पुगेर सेतो रंगको एउटा झोला फालेको र झोला खोलेर हेर्दा पहेँलो धातु र पेस्तोल फेला परेको प्रहरीको भनाइ थियो ।

तस्करले फालेको झोला बरामद हुने, तर तस्करहरु सजिलै फरार हुने घटना शंकास्पद रहेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आन्तरिक छानबिन थालेको थियो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको छानबिनका क्रममा प्रहरीले नै घटनाको अनुसन्धानलाई प्रभावित पार्न खोजेको भेटिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले अहिले पनि घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । सोही क्रममा नक्कली सुन तस्करीमा संलग्न भनिएकामध्ये ३ जनालाई नवलपरासीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्