ध्यानाकर्षण बुझाउन सानेपा गएका पौडेलाई देउवाले भने– आफ्नै खुट्टामा बन्चरो नहान्नुहोस् !

प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी विभागमा भइरहेका मनोनयनलगायतका असहमतिका ५ वटा विषयमा सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

वहिबार मध्याह्न पार्टी कार्यालय सानेपामा सभापति देउवालाई भेटेर पौडेल समूहले ध्यानाकर्षण गराएको थियो ।

सभापति देउवालाई लिखित पत्र बुझाउन पौडेल पक्षबाट केन्द्रीय सदस्यहरु रामशरण महत, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, सरिता प्रसाईं र जीवन परियार सहभागी थिए ।

तर देउवाले त्यस क्रममा चित्त बुझ्दो जवाफ नदिएको भन्दै पौडेल पक्षले पत्रकारसम्मेलन गरेर धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । दिउँसो ३ बजेपछि पौडेल पक्षले पत्रकारसम्मेलनको तयारी गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले सभापति देउवालाई बुझाएको लिखित पत्रमा पार्टी विभागमा गठन र मनोनयन रोक्न, क्रियाशील सदस्यता वितरणमा पारदर्शी बनाउन, अर्को पार्टीबाट कांग्रेस प्रवेश गर्नेहरुलाई पद विभाजन गर्दा केन्द्रीय कार्यसमितिबाट मात्रै निर्णय लिन, विदेशस्थित जनसम्पर्क समितिका विवादहरुलाई निष्पक्ष रुपमा हल गनुपर्ने लगायतका विषय रहेका छन् ।

सभापति देउवासँगको भेटमा असन्तुष्ट पक्षका नेताहरुले महाधिवेशनलाई निष्पक्ष र स्वतन्त्रपूर्वक गर्ने वातवरण निर्माणका लागि पार्टीका केन्द्रीय विभाग र निकायमा भइरहेका मनोनयन तत्काल रोक्नुपर्ने माग गरेका थिए । तर त्यसमा देउवाले सहमति जनाएनन् ।

बरु देउवाले उल्टो विभागहरुमा नाम दिन पौडेललाई आग्रह गरे । देउवाले पौडेललाई आफ्नो खुट्टामा बञ्चरो नहान्नुस् विभागहरुमा नाम दिनुस् भन्दै पौडेल पक्षको मागलाई वेवास्ता गरेको स्रोतको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्