साढे १४ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै भूमिका शंकास्पद

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  २ : २८


काठमाडौं । १५ किलो सुन भनेर महानगरीय प्रहरी परिसर काठमाडौंले बरामद गरेको पहेँलो धातुसँग सम्बन्धित घटनाको अनुसन्धान विवादमा तानिएको छ ।

प्रहरीले नक्कली घटनास्थल ‘निर्माण गरेर’ अनुसन्धानलाई नै प्रभावित गर्न खोजेको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र दरबारमार्ग बृत्तको टोलीले मंगलबार बिहान काठमाडौंको कमलादीबाट सुनजस्तो देखिने १५ किलो पहेँलो धातु बरामद गरेको जनाएको थियो । पछि प्रयोगशाला परीक्षणका क्रममा आधा किलो मात्रै सुन भएको पाइएको थियो भने साढे १४ किलो चाँदी भएको पाइएको थियो ।

प्रहरीले १५ किलो पहेँलो धातु फेला पारेको झोलाबाट २ थान पेस्तोल पनि बरामद भएको जनाएको थियो ।

हात्तीसार (कृष्ण पाउरोटी) चोकको चेकिङ छलेर आएको बा ६ च ५५११ नम्बरको स्कार्पियो गाडिको पिछा गर्दा गाडीमा रहेका व्यक्तिले कमलादीको नबिल बैंक अगाडि पुगेर सेतो रंगको एउटा झोला फालेको र झोला खोलेर हेर्दा पहेँलो धातु र पेस्तोल फेला परेको प्रहरीको भनाइ थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले पनि तस्करहरुको पिछा गर्दा कमलादीको नबिल बैंक अगाडिको सडकमा पुगेर उनीहरुले सेतो रंगको झोला फालेर भागेको र झोला चेक गर्दा पहेँलो धातु र हतियार फेला परेको बताएका थिए । तस्करले फालेको झोला बरामद हुने, तर तस्करहरु सजिलै फरार हुने घटना शंकास्पद रहेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आन्तरिक छानबिन थालेको थियो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको छानबिनका क्रममा प्रहरीले नै घटनाको अनुसन्धानलाई प्रभावित पार्न खोजेको भेटिएको छ ।

महानगरीय प्रहरी कार्यालयको छानबिन समितिले घटना भएको भनिएको कमलादी (नबिल बैंक) अगाडिको क्षेत्रको सीसीटीभी फुटेज हेरर छानबिन अगाडि बढाएको थियो । तर, सीसीटीभी फुटेजमा उक्त क्षेत्रमा त्यस्तो कुनै गतिविधि भएको नदेखिएको स्रोतको भनाइ छ । छानबिन समितिले त्यहाँ तैनाथ अन्य तल्लो तहका प्रहरी कर्मचारी र सर्वसाधारणसँग पनि घटना भएको बारे सोधपुछ गरेको थियो । तर, तल्लो तहका प्रहरी कर्मचारी र सर्वसाधारणले पनि त्यहाँ त्यस्तो घटना भएकोबारे कुनै जानकारी नभएको कुरा छानबिन समितिलाई बताएका छन् ।

‘हाम्रो यहाँ (महानगरीय प्रहरी कार्यालय रानीपोखरी)मा रिपोर्ट भएअनुसार घटना भएको स्थान कमलादीको नबिल बैंक अगाडि त्यस्तो कुनै घटनाक्रम भएको प्रमाण हामीले फेला पारेका छैनौं । अहिलेसम्मको अनुसन्धानबाट कमलादीको घटनास्थल नक्कली पो हो कि भन्ने आशंका बढेको छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीद्वारा गठित आन्तरिक छानबिन समितिका एक अधिकारीले भने ।

महानगरीय प्रहरी बृत्त दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहालले घटनास्थलबारे गतल रिपोर्टिङ गरेको पाइएको छानबिन समितिका ती अधिकारीको भनाइ छ । यद्यपि त्यस विषयमा थप छानबिन भइरहेको उनी बताउँछन् ।

३ जना पक्राउ

प्रहरीले नक्कली सुन र हतियार बरामद प्रकरणमा ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले स्थानीय प्रहरीको सहयोगमा ३ जनालाई नवलपरारीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक सञ्जय पटेल, मिदेश सकिया र देवानसिंह पटेल छन् । काठमाडौंबाट ट्याक्सी चढेर भैरहवा पुगेका उनीहरु नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रबाट भारत छिर्ने क्रममा पक्राउ परेका हुन् । प्रहरीले उनीहरुलाई काठमाडौंबाट भैरहवा पु¥याउने एक जना ट्याक्सी चालकलाई पनि पक्राउ गरेको छ ।

अपराध महाशाखा स्रोतका अनुसार पक्राउ परेकाहरुले भने प्रहरीलाई झोला बुझाएर आफूहरु त्यहाँबाट हिँडेको बयान दिएका छन् ।

तर, उनीहरु तीनैजनाले घटनास्थलबारे फरक फरक बयान दिएको अपराध महाशाखाका एक अधिकारी बताउँछन् । ‘मिदेश सकिया भन्ने मान्छेले कमलादीस्थित चेक प्वाइन्टबाट अगाडि बढेर प्रहरीलाई सुन बुझाएको भनेका छन्,’ अपराध महाशाखाका ती अधिकारी भन्छन्, ‘तर, सञ्जय पटेल भन्ने मान्छेले सुन्धारातिर घटना भएको बयान दिएको छ । अहिले पनि उनीहरुले अनुसन्धानलाई प्रभावित पार्ने गरी बयान दिइरहेका छन् ।’

अपराध महाशाखा स्रोतका अनुसार उनीहरुले प्रहरीलाई सुन बुझाएपछि सुन्धाराबाट सार्वजनिक गाडी चढेर थानकोट पुगेको बताएका छन् । त्यसपछि उनीहरुले ट्याक्सी लिएका थिए । ट्याक्सी भाडामा लिनेबेला मनकामना (कुरिन्टार)सम्म जाने भनेका थिए । तर, कुरिन्टार पुगेपछि चितवन र चितवन पुगेपछि भैरहवासम्म जाने भन्दै बीचबीचमा भाडा थपेर एउटै ट्याक्सीमा भैरहवा पुगेका अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका ट्याक्सी चालकले भने ग्रान्डी अस्पतालमा एकजना बिरामीलाई छाडेर जानेबेला थानकोटमा ३ जनालाई भेटेर उनीहरुले भनेको स्थानमा गएको बयान प्रहरीलाई दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्