अष्ट्रेलियामा कोरोनाको दोस्रो लहर आउने चिन्ता

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  १ : २९


मेलवर्न । अस्ट्रेलियाको भिक्टोरियामा कोरोना (कोभिड-१९) संक्रमणका घटना बढ्दै गएका छन्।

उक्त राज्यमा एकै दिन मृत्यु र संक्रमणका घटनाले रेकर्ड बनाएपछि संक्रमण झन् फैलने डर बढेको छ। भिक्टोरियाको मेलवर्न लगायतका क्षेत्रमा यसअघि लगाइएको लकडाउनले काम नगरेको टिप्पणी हुन थालेको छ।

अष्ट्रेलियाको दोस्रो ठूलो राज्य भिक्टोरियामा बिहिबार मात्रै १३ जनाको संक्रमणबाट निधन भएको छ भने ७२३ जना नयाँ संक्रमित फेला परेका छन्।

सोमबारको तुलनामा यो ३६ प्रतिशतले वृद्धि हो। बिहिबार मृत्यु हुनेमा ७० देखि ८० बर्ष समूहका मानिस रहेका छन्।

अधिकारीहरूले फेरि लक्षणहरू देखा परेमा तुरुन्तै परीक्षण गराउन जनतालाई अपील गरेका छन।

गत हप्ता भिक्टोरिया सरकारले बिरामी व्यक्तिहरूले आइसोलेसनको नियम तोडेको वा समयमै टेस्ट नगराएका कारण संक्रमण नियन्त्रणमा आए पनि बढ्दै गएको जनाएको थियो।

कोरोनाको फैलावटलाई नियन्त्रण गर्न आज देखि केही क्षेत्रहरूमा विवाह समारोह र अन्त्येष्टिहरू भेलामा आंशिक प्रतिबन्ध लगाइदैछ।

आइतवार मध्यरात देखि भिक्टोरियामा बस्ने प्रत्येक व्यक्तिले सार्वजनिक स्थानहरूमा जाँदा अनिवार्य मास्क लगाउनुपर्नेछ।

स्थितिलाई ध्यानमा राख्दै भिक्टोरियासँगै रहेका अन्य राज्यहरूले उनीहरूको सिमाना बन्द गरेका छन्।

अस्ट्रेलियाले केही समय अघि नै महामारीलाई अरु भन्दा राम्रो नियन्त्रणमा राखेको जनाएको थियो। तर, यस महिनाको सुरुवातमा मेलवर्नमा भएको तीव्र बृद्धिले अस्ट्रेलिया लागि चिन्ता बढाएको छ।


प्रतिक्रिया दिनुहोस्