नक्कली सुन प्रकरण: पूर्वीनवलपरासीबाट ३ जना पक्राउ, काठमाडौं ल्याइँदै

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ११ : ०६


काठमाडौं । प्रहरीले नक्कली सुन बरामद प्रकरणमा पूर्वी नवलपरासीबाट ३ जनालाई पक्राउ गरेको छ।

अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई काठमाडौं ल्याइँदै गरिएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त दरबारमार्गको टोलीले कमलादीको सडकमा हिँडिरहेका २ व्यक्तिले फालेको झोला चेक गर्दा १५ किलो पहेँलो धातु फेला पारेको थियो ।

प्रहरीले पहेँलो धातु सुन नै भएको आशंकामा अनुसन्धान अगाडि बढाएको थियो । जसअन्तर्गत बरामद धातुमध्येको नमूना संकलन गरी परीक्षणका लागि नेपाल सुन चाँदी व्यवसायी महासंघको ‘ल्याब’मा पठाइएको थियो । तर, ल्याबमा परीक्षण गर्दा लगिएको नमूना ‘नक्कली सुन’ भएको पाइएपछि बरामद भएको पूरै धातु परीक्षण गरिएको थियो ।

पूरै धातु परीक्षण गर्दा करिब ५०० ग्राम (आधा किलो) मात्रै सक्कली सुन निस्किएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीले जानकारी दिए ।

प्रहरीले सुनसँगै पेस्तोल पनि बरामद गरेको थियो।


प्रतिक्रिया दिनुहोस्