कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ८ : ०१


काठमाडौं । नेपालमा आज एकैदिन कोरोना संक्रमणका कारण ३ जनाको ज्यान गएको छ।

वीरगञ्जका दुई जना र मोरङका एक जनाको ज्यान गएको हो। योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।

वीरगञ्जको रेशमकोठीका ६८ वर्षीय वृद्धको नारायणी अस्पतालको गण्डक कोभिड उपचार केन्द्रमा आज विहान साढे १० बजे मृत्यु भएको छ। उनमा मुटुको समस्या समेत रहेको थियो।

यसैगरी आजै दिउसो एक ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको छ। ती पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेज पुगेका थिए।

यसैगरी सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानमा भेन्टिलेटरमा उपचाररत ४५ वर्षीय संक्रमित पुरुषको बेलुकी पौने ५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

कोरोनाका कारण मृत्यु भएका व्यक्ति मोरङको सुनवर्षी नगरपालिकाका हुन्। ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मं‌गलबार कोसी अस्पतालमा जाँच गर्न आएका उनको स्वाब संकलन पश्चात कोसी अस्पतालकै आइसोलेसनमा भर्ना भएका थिए । बुधबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको थियो।

रिपोर्ट पोजेटिभ आएपछि उनलाई थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो।

उपचारका क्रममा उनको आज निधन भएको हो।


प्रतिक्रिया दिनुहोस्