लकडाउन खुलेसँगै सङ्क्रमणको दर बढ्यो

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ६ : ०५


काठमाडौं । लकडाउन खुलेसँगै कोभिड–१९ सङ्क्रमणको दर बढेको पाइएको छ।

लकडाउन खोल्नुअघिको आठ दिन र लकडाउन खुलेपछिको आठ दिनपछि परीक्षण र सङ्क्रमितको सङ्ख्या हेर्दा कोरोनाको सङ्क्रमण दर बढेको पाइएको हो।

लकडाउन खुल्नअघिको आठ दिनको अवधिमा कूल ३४ हजार ४५७ नमूना परीक्षण गर्दा एक हजार ४९ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

यस्तै लकडाउन खुलेको पछिल्ला आठ दिनमा ३४ हजार १०९ नमूना परीक्षण गर्दा एक हजार २७९ जनामा कोरोना पुष्टि भएको छ।

लकडाउन खुल्नुअघिको आठ दिन तीन प्रतिशतमा सीमित रहेको कोरोना सङ्क्रमण पछिल्ला आठ दिनको अवधिमा बढेर ३.७ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बन्दाबन्दी खुलेसँगै सबै नवसामान्यीकरणमा आएको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले कोभिड अगाडिको जस्तै सामान्य जीवनमा फर्किएका रुपमा नबुझ्न आग्रह गर्नुभयो।

कोरोना भाइरसको जोखिमकैबीचमा काम गर्नुपर्ने बाध्यता रहेको भन्दै उहाँले उचित जनस्वास्थ्य सावधानी अपनाउन अनुरोध गर्नुभयो। पछिल्लो केही दिनदेखि लगातार कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ।

पछिल्लो २४ घण्टामा विभिन्न २९ वटा प्रयोगशालामा छ हजार ३७ नमूना परीक्षणमा २१० जनामा कोभिड–१९ पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो।

आज सबैभन्दा बढी डोटीमा ५२ सङ्क्रमित फेला परेका छन्। त्यस्तै पर्सामा ३४, स्याङ्जामा २६, महोत्तरी र काठमाडौँमा १४/१४, धनुषामा १२, मोरङ, कैलाली र कञ्चनपुरमा आठरआठ, धादिङ र बागलुङमा सातरसात, म्याग्दी, सप्तरी कपिलवस्तु र बैतडीमा दुईरदुई तथा सुनसरी, सर्लाही, भक्तपुर, रौतहट, तनहुँ र सुर्खेतमा एकरएक सङ्क्रमित थपिएका छन्।

मुलुकभर अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २०३ रहेको छ।

प्रदेश नं १ मा २२६, प्रदेश नं २ मा एक हजार ९८२, वाग्मती प्रदेशमा ४८३, गण्डकी प्रदेशमा २८८, प्रदेश नं ५ मा ४०१, कर्णाली प्रदेशमा ३०२ र सुदूरपश्चिम प्रदेशमा एक हजार ५२१ सक्रिय सङ्क्रमित छन्।

रौतहट र कैलालीमा अझै पनि ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन्। क्वारेन्टिनमा रहनेको सङ्ख्या १४ हजार ४७१ छ।

नेपालमा हालसम्म कूल सङ्क्रमितको ७२.७ प्रतिशत कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १४६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो। हालसम्म १४ हजार २१ जना कोरोनालाई जितेर घर फर्केका छन्।

प्रदेश नं १ मा ७८९, प्रदेश नं २ मा तीन हजार १८, वाग्मती प्रदेशमा ५१८, गण्डकी प्रदेशमा एक हजार २२७, प्रदेश ५ मा तीन हजार ९१०, कर्णाली प्रदेशमा एक हजार ६८६ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ८७३ जना कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन्।

प्रदेश नं १ को भोजपुर र संखुवासभा, बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित छैनन्।

नेपालमा प्रति १० लाखमा १२ हजार २८४ जनाको कोरोना परीक्षण गरिएको छ भने मृत्युदर प्रति १० लाखमा १।६ रहेको छ। हालसम्म विश्वभर एक करोड ६९ लाख १७ हजार ७१४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै कोरोनाबाट छ लाख ६३ हजार ९४२ जनाको मृत्यु भएको छ भने कोरोना सङ्क्रमणमुक्त भएर एक करोड चार लाख ४२ हजार ३८३ ‘डिस्चार्ज’ भएका छन्।


प्रतिक्रिया दिनुहोस्