राफेल आइपुगेपछि राजनाथ सिंहले बताए, अब कसले चिन्ता लिनुपर्छ!

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ५ : ३५


नयाँ दिल्ली । धेरै उतार चढावका बीच फ्रान्ससँग किनेका ५ लडाकु राफेल विमान भारत पुगेका छन।

यी विमानहरू जुलाई २७ मा फ्रान्सबाट भारतका लागि प्रस्थान गरेका थिए तर, दुवईमा दुई दिन रोकिएपछि बुधबार विमान भारत अवतरण गरेका हुन।

लडाकु विमान खरिदपछि भारतीय वायु सेनाको सैन्य शक्ति एकाएक बढेको छ।

भारतीय सेनाले आपतकालिन अधिकार प्रयोग गर्दै यी लडाकू विमानहरूका लागि प्रयोग हुने मिसाइलहरू किन्ने प्रस्ताव अनुमोदन गरेको भारतीय मिडियाले जनाएका छन्।

लडाकु विमान भारत पुगेपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले बधाई तथा खुशी व्यक्त गरेका छन्।

राजनाथ सिंहले ट्वीट गर्दै भारतले खरिद गरेका यी विमान कुन देशका लागि चिन्ताको बिषय बन्न सक्छ भन्नेकुरा समेत उल्लेख गरेका छन।

सिंहले लेखेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले सही निर्णय लिएका कारण राफेल विमान खरीद गरिएको हो। यी एअरक्राफ्ट प्रदर्शनमा उत्कृष्ट छन् र तिनीहरूमा प्रयोग हुने हतियारहरू पनि उत्तम। तिनीहरूको रडार, सेन्सर र इलेक्ट्रोनिक युद्धक क्षमता विश्वकै सर्वश्रेष्ठ छ। राफलको आगमनसँगै भारतीय वायुसेना कुनै पनि चुनौतीको सामना गर्न तयार हुनेछ। हाम्रो क्षेत्रीय अखण्डतालाई चुनौती दिन चाहनेहरू जो छन् भारतीय वायुसेनाको यो नयाँ क्षमता देखेर अब उनीहरु चिन्तित हुनुपर्नेछ।’

भारत र चीन बीच सीमामा बढ्दो तनाव र बदलिएको विश्वव्यापी सुरक्षा परिदृश्यमा यी विमानहरू भारतका लागि धेरै महत्त्वपूर्ण हुने विज्ञहरुको टिप्पणी छ।

पछिल्लो समय भारतको पाकिस्तान सँगै चीन र नेपाल सँग पनि सीमाको विषयलाई लिएर सम्बन्ध चिसिएको छ।

यी विमान खरिदपछि भारतीय वायुसेनाको क्षमता तत्काल बढ्नेछ।

भारतले बुधबार हरियाणाको अम्बालामा अवतरण गरेका राफेल विमानको लागि ६०-७० किलोमिटरको दूरीमा मार हान्ने ‘ह्यामर मिसाइल’ पनि खरीद गरिरहेको छ।

फ्रान्सबाट किनेको लडाकू विमानपछि छिमेकी देशहरूको तुलनामा भारतको वायुसेनाको शक्ति धेरै गुणा बढाउनेछ।

विज्ञका अनुसार राफेल विमानको क्षमता भारतको अम्बालाबाट जम्मा २० मिनेटमा पाकिस्तानको राजधानी इस्लामावाद पुगेर हमला गर्न सक्ने छ।

पाकिस्तानसँग राफेलको बराबरी गर्ने विमान नभएको बताइन्छ। चीनसँग भने यस्ता विमानहरु पहिले देखि नै छ।

राफेल लडाकु जेट विमानहरू अहिलेसम्म अफगानिस्तान, लिबिया, माली, इराक र सिरिया जस्ता देशहरूमा प्रयोग भएको छ।

भारतले सन् २०१६ मा फ्रान्सेली एयरोस्पेस कम्पनी दसल्ट एभिएसनसँग ३६ वटा राफेल लडाकू विमान किन्नका लागि ५९ हजार करोड भारतिय रुपयौंको सम्झौता गरेको थियो। ३६ मध्ये ३० लडाकू विमान अनि ६ वटा प्रशिक्षक विमान हुन्।

३० वटा अर्डर गरेपनि भारतले ५ विमान पाएको हो। भारतले फ्रान्सबाट पुरा विमानहरु सन् २०२१ सम्ममा प्राप्त गरिसक्नेछ।

भारतले फ्रान्ससँग राफेल विमानहरू खरीद गर्ने सम्झौता गरेपछि भारतमा निकै विवाद समेत भएको थियो। अहिले पनि विपक्षी कांग्रेसले यी विमानहरूको खरीदमा भ्रष्टाचार गरेको आरोप लगाउँदै आएको छ।

भारतीय वायु सेनाले ट्वीट राफल विमानको स्वागत गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्विट गर्दै लडाकु विमानको स्वागत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्