चेपाङ समुदायका घरमा आगो लगाएकोबारे विभागले माग्यो माफी

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ५ : १६


काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको कुसुमखोलामा चेपाङ समुदायका घरमा आगो लगाएको र हात्ती लगाएर भत्काउन लगाएको प्रति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले माफी मागेको छ ।

संघीय संसद प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उक्त घटनाप्रति विभागको तर्फबाट निमित्त महानिर्देशक रामचन्द्र कँडेलले माफी मागेका हुन् ।

समितिको बुधबारको बैठकमा कँडेलले उक्त घटना मानवीय गल्ती भएको भन्दै माफी मागेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बसेका चेपाङ समुदायका घर भत्काइएको र जलाइएको थियो । व्यापक विरोधपछि विभागले क्षमा याचना गरेको हो ।

कँडेलले वन्यजन्तु र मानिसबीचको द्वन्द्व समाधान गर्नका लागि बस्ती सार्ने क्रममा कमजोरी भएको बताएका हुन् । घर र गोठको रूपमा प्रयोग गरिएका ’कटेज’मा आगो लगाइएको र भत्काइएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्