बाढीले बगाउँदा कैलालीमा ३ जना बेपत्ता, पीडित भन्छन्– उद्धारका लागि कोही आएन

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : ५९


धनगढी । मंगलबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा कैलालीमा ३ जना बेपत्ता भएका छन् ।

जिल्लाको भजनी नगरपालिकाका फरक–फरक ठाउँमा गरी बाढीले बगाएर ३ जना बेपत्ता भएका हुन् । बाढीले बगाएर बेपत्ता हुनेमा भजनीका ११ वर्षीय बालक स्केल चौधरीसहित अन्य २ जना छन् ।

कैलालीको भजनीमा बाढी पसेपछि स्थानीयवासीको महत्वपूर्ण कागजपत्र र सामग्री बचाउ गर्दै स्थानीय युवा । तस्बिर– दुर्गा देवकोटा/रासस

बाढीले बगाएका अन्य २ जनाको भने पहिचान खुल्ने सकेको छैन ।

मंगलबार रातिदेखिको वर्षाका कारण सुदूरपश्चिमको तराईं क्षेत्र जलमग्न बनेको छ । कैलाली र कञ्चनपुरका अधिकांश नदीमा पानीको सतह बढेको छ ।

लगातारको वर्षाले कैलालीको कान्द्रा नदीमा आएको बाढीले प्रभावितको उद्धार गर्दै सशस्त्र प्रहरी ।

विभिन्न नदीमा आएको बाढीका कारण कैलालीको पूर्वी र दक्षिण–पूर्वी क्षेत्रमा गरी करिब १ हजारको हाराहारीमा घरहरु डुवानमा परेका छन् ।

डुवानबाट कैलालीको भजनी, लम्की, जोशीपुर र टीकापुर क्षेत्र बढी प्रभावित छन् ।

कैलालीको धनगढी उपमहानगरपालिकाका– ३ मिलनचोकमा वर्षाका कारण डुबानमा परेको बस्ती ।

बुधबार बिहानैदेखि बाढी गाउँ पसेपनि उद्धारका लागि कुनै पनि सरकारी टोली नआएको स्थानीयहरुको गुनासो छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बाढीमा फसेकाहरुको उद्धारका लागि सबै निकायलाई निर्देशन दिइसकिएको बताएका छन् ।

तर, केही ठाउँमा मात्रै सशस्त्र प्रहरीको उद्धार टोली पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्