देउवालाई दबाब दिन सानेपामा पौडेल पक्षको भेला

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ३ : ३९


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरूको भेला पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।

महाधिवेशनको मिति तोकिसकेको समयमा पार्टीको विभिन्न विभाग र समितिहरू विस्तार गरेको भन्दै सभापति शेरबहादुर देउवालाई दबाब दिन पौडेल पक्षले भेला आयोजना गरेको हो ।

पौडेल पक्षले सभापति देउवाले महाधिवेशन प्रभावित पार्ने काम गरिरहेको आरोप लगाउँदै आएको छ। पौडेल पक्षको भेलामा कांग्रेसका वर्तमान पदाधिकारी, केन्द्रीय सदस्य र पूर्व पदाधिकारीसमेत सहभागी छन्।

बैठकमा कार्यकाल सकिएको तरुण दल र साउन १६ मा कार्यकाल सकिने अर्को भ्रातृ संस्था नेपाल विद्यार्थी संघको विषयमा समेत छलफल हुने बताइएको छ। पौडेल पक्षले विधि मिचेर देउवाले सदस्यता वितरणको काम गरिरहेको आरोप पनि लगाउँदै आएको छ।

निर्वाचन आचारसंहिताविपरीत सभापति देउवाले विभागमा मनोनयन गरेपछि वरिष्ठ नेता पौडेल पक्षका नेता भेलामा जुटेका हुन् ।

२८ विभाग बढाएर कांग्रेसले ४७ पुर्‍याएको छ। यीमध्ये महत्वपूर्ण विभागमा देउवाले संयोजकलगायत मनोनयन गरेका छन्। पौडेलसँग विभागका लागि नेताहरुको नाम मागिए पनि दिएका थिएनन्।


प्रतिक्रिया दिनुहोस्