सुदूरपश्चिममा थपिए ५७ कोरोना संक्रमित

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ३ : २६


धनगढी । सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा गत २४ घण्टामा १९ महिला र ३८ पुरुष गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रयोगशालाको प्रयोगशालामा गत २४ घण्टामा २ सय जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

नयाँ थपिएका संक्रमितमध्ये सबैभन्दा बढी डोटीको आदर्श गाउँपालिकाका छन् । आदर्श गाउँपालिकाका ३७ जनामा संक्रमण देखिएको छ ।

यस्तै, कैलालीको भजनीका ५, कञ्चनपुरको भीमदनगरका ५, डडेल्धुराको परशुरामका ४, कैलालीको बर्दगोरयाका ३ र कञ्चनपुरको बेलौरीका ३ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा मंगलबारसम्म ४ हजार ३ सय २० जनामा संक्रमण पुष्टि भएको थियो । सेती अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणका क्रममा ५७ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा कूल संक्रमितको संख्या ४ हजार ३ सय ७७ पुगेको छ ।

कोरोना संक्रमणबाट सुदूरपश्चिममा हालसम्म ९ जनाको मृत्यु भएको छ भने २ हजार ८ सय १९ जना संत्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।


प्रतिक्रिया दिनुहोस्