विवाद केन्द्रीय कमिटीबाट टुंग्याउन माग गर्दै ओली–प्रचण्डलाई हस्ताक्षर बुझाइदै

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ३ : २३


काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानका लागि केन्द्रीय कमिटी बोलाउन माग गर्दै केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्षद्वयलाई हस्ताक्षरसहितको पत्र बुझाउने भएका छन् ।

केही समययता पार्टीमा देखिएको विवाद समाधान भन्दा फुट तर्फ उन्मुख भएको भन्दै केन्द्रीय सदस्यहरुले पार्टीभित्रको विवाद मिलाउन केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्ताक्षर बुझाउन लागेका हुन् ।

पार्टीका कम्तिमा २५ प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पत्र अध्यक्ष ओलीलाई र अर्का अध्यक्ष प्रचण्डलाई दिउसो ४ बजे बुझाउने तयारी गरिएको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए ।

केन्द्रीय सदस्यहरुको हस्ताक्षर पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दर्ता गराएपछि अध्यक्ष ओली–प्रचण्डलाई बुझाउने तयारी गरिएको छ ।
पार्टीमा देखिएको विवाद समाधान नभएका कारण त्यसको समाधान गर्दै पार्टीलाई फुटबाट जोगाउन यस्तो पहल गर्न लागिएको खतिवडाले जानकारी दिए ।

‘पार्टीभित्रको विवाद समाधानका विषयमा छलफल गर्न पाउँनु प¥यो भनेर दुवै अध्यक्षलाई पत्र बुझाउँदैछौं’ उनले भने । अध्यक्ष ओली–प्रचण्डलाई एक सय ५० जनाभन्दा धेरै केन्द्रीय सदस्यले हस्ताक्षर बुझाउने तयारी गरिएको छ ।

यसअघि २० जना स्थायी कमिटी सदस्यहरुले गत वैशाख १० गते अध्यक्ष ओली–प्रचण्डलाई पत्र लेखेर बैठक बोलाउन माग गरेका थिए । स्थायी कमिटी बैठक माग गरिएको ३ महिनापछि असार १० गतेदेखि शुरु भएको बैठक अझै जारी छ र बैठक निरन्तर जसो स्थगित हुँदै आएको छ ।

पार्टीमा देखिएको विवाद उत्कर्षमा पुगिरहेको बेलामा अध्यक्ष ओलीले एकलौटी रुपमा बैठक अनिश्चित कालका लागि स्थगित गरिदिएपछि विवाद झन् उग्र बनेको छ ।

दुई अध्यक्षबीच वार्ता र छलफलबाट समस्या समाधान गर्नका लागि भन्दै बारम्बार बैठक अवरुद्ध गरिएको भएपनि कुनै निकास निस्कन नसकेको हो ।

प्रचण्ड नेता माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई सरकार र सत्ताबाट राजीनामा गर्न दबाब दिइरहेका छन् तर ओलीले भने नछोड्ने अडानमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्