साढे १४ किलो नक्कली सुन बरामदबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  २ : ०७


काठमाडौं । मंगलबार बिहान काठमाडौंको कमलादी क्षेत्रबाट साढे १४ किलो नक्कली सुन र २ थान पेस्तोल बरामद भएको घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन भएको छ ।

महानगरीय प्रहरीको कार्यालय रानीपोखरीले नक्कली सुन र २ थान पेस्तोल बरामद हुँदा समेत घटनामा संलग्न व्यक्ति पक्राउ नभएको विषयमा अनुसन्धान गर्न समिति गठन गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दीपक थापाको नेतृत्वमा समिति गठन गरिएको हो । समितिको सदस्यमा महानगरीय प्रहरी कार्यालयकी एसएसपी किरण बज्राचार्य, महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र राठोर, एसपी दूर्गा दाहाल र डीएसपी राजकुमार रेग्मी छन् ।

मंगलबार बिहान कृष्ण पाउरोटी चोकको चेकिङ छलेर बा ६ च ५५११ नम्बरको स्कार्पियो गाडी भागेपछि प्रहरीले त्यसको फिछा गरेको थियो । प्रहरीले पिछा गर्नथालेपछि गाडीमा सवार व्यक्तिले कमलादीस्थित नबिल बैंक अगाडि सडकमा सेतो रङको झाला फालेका थिए ।

प्रहरीको टोलीले सेतो रङको झोला उठाए पनि गाडी भने फरार भएको थियो । गाडीले फालेको झोला चेक गर्दा १५ किलो सुन जस्तो देखिने पहेँलो धातु र २ थान पेस्तोल फेला परेको थियो ।

पहेँलो धातु परीक्षण गर्ने क्रममा आधा किलो मात्रै सुन भएको पत्ता लागेको थियो ।

कुनै व्यक्तिले सुन भनेर नक्कली सुनको कारोबार गरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको हो । झोलाबाट २ थान पेस्तोल समेत बरामद भएका कारण ती व्यक्ति हतियार कारोबार समेत हुन सक्ने प्रहरीको आशंका छ ।

‘कडा सुरक्षा व्यवस्थाका बीच एउटा गाडी सडकमा हतियारसहितको झोला फालेर कसरी भाग्न सफल भयो भनेर अनुसन्धान गर्न समिति गठन गरिएको हो,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एक अधिकृतले भने ।


प्रतिक्रिया दिनुहोस्