कर्णाली नदीमा पानीको सतह बढ्यो, कैलालीका २०० बढी घर डुवानमा

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १२ : ०४


काठमाडौं । मंगलबार रातिदेखि लगातारजसो भइरहेको वर्षाका कारण पश्चिम तराईंमा बाढी र डुवान शुरु भएको छ ।

मंगलबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढी पस्दा सुदूरपश्चिमको कैलालीमा २ सय बढी घर डुबेका छन् ।

कैलालीको कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि भजनी, जोशीपुर लगायतका बस्ती डुवानमा परेका छन् ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान केन्द्रका अनुसार अहिले कर्णाली नदीमा पानीको बहाव बढ्दो क्रममा छ ।

कर्णाली नदीको स्रोत खोलाको रुपमा रहेको दैलेखको लुहारे खोलामा पानीको बहाव खतराको सूचक नजिक पुग्न थालेको छ । यस्तै, चीसापानी मापन केन्द्रमा पनि पानीको सतहतले खतराको सूचक छुन लागेको बाढी पूर्वानुमान केन्द्रले जानकारी दिएको छ ।

यस्तै, कैलालीको चिसापानी (कर्णाली) र टीकापुर (चुरिया) क्षेत्रमा रहेको वर्षा मापन केन्द्रका उनुसार ती क्षेत्रमा खतराको सूचकभन्दा माथि वर्षा भएको छ ।

चुरिया क्षेत्रमा गत २४ घण्टामा २७१.२ र चिसापानी क्षेत्रमा २६०.८ मिलमिटर वर्षा भएको छ ।


प्रतिक्रिया दिनुहोस्