पर्सामा सेना, प्रहरी, कैदी र स्वास्थ्यकर्मी गरी थप ३४ जनामा कोरोना संक्रमण

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ११ : ०१


वीरगन्ज । पर्साको वीरगन्जमा चिकित्सक, सेना, प्रहरी र कारागारका कर्मचारीसहित थप ३४ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीषणका क्रममा २ वर्षदेखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितमध्ये ५ जना बालबालिका र १० जना महिला छन् ।

संक्रमण देखिनेमा नेपाली सेनाका १, नेपाल प्रहरीका ३, कैदीबन्दी ६, कारागारका कर्मचारी २, स्वास्थ्यकर्मी १ र आफैं पैसा तिरेर परीक्षण गराउन आएका १ जना छन् ।

संक्रमण पुष्टि भएकामध्ये धेरै जना घरमै आइसोलेसनमा बसिरहेका छन् । केहीलाई भने सरकारले व्यवस्था गरेको क्वारेन्टाइनमा राखिएको छ ।

पर्सामा संक्रमितको संख्या बढेका कारण व्यवस्थापनमा समस्या भइरहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।

यसअघि नै पनि ४८ जना संक्रमितहरुलाई अस्पताल भर्ना गर्न सकिएको छैन । कोभिड अस्थायी अस्पतालको रुपमा तोकिएको गण्डक अस्पतालमा ५० बेड छन् । तर, त्यहाँ अहिले ६२ जना संक्रमितलाई राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्