नेपालमा मनसुन, विपद र पूर्वतयारी

प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार


नेपाल र नेपालीहरु कोरोनासँग जुधिरहेका छन् । मनसुन भित्रिदै गर्दा बाढीपहिरोले वितण्डा शुरु भइसकेको छ । पहिरोबाट पहाडी क्षेत्रहरुले अप्रत्याशित क्षति ब्यहोरिएका छन् । वर्षेनी बाढीपहिरोले यसैगरी क्षति पुराउने गर्दछ । तर यो पालि बहुत अनिष्टको सङ्केत प्रस्तुत गरेको देखिन्छ । तपसिलको घटनाहरुले सो कुराको पुष्टि गर्दछ ।

घटना १ ः असार २४ गते बुधवार राति सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– ५ जम्बुमा पहिरो गयो । सिङ्गो बस्तीलाई क्षति पुग्यो । २५ घर बगे । २ जनाको मृत्यु र १८ जना वेपत्ता भएका छन् । सिन्धुपाल्चोक जिल्लाकै भोटेकोशी गाउपालिका– ५ बुल्कोटमा ४ जना पहिरोमा वेपत्ता छन् । साउन १ गते बिहान २ बजे भोटेकोशी गाउँपालिका– ४ फुल्पिङकट्टीमा आएको पहिरोबाट एकै परिवारका २ जनाको मृत्यु भयो । अन्य ३ जना बेपत्ता भएका छन् ।

घटना २ ः असार २५ गते बिहीबार राति कास्की जिल्लाको पोखरा महानगरपालिका– १८ सराङकोटमा पहिरो जाँदा ४ जनाको मृत्यु र ९ जना घाइते छन् । पोखरा महानगरपालिका– २५ मा पनि १ जनाको पहिरोबाट मृत्यु भएको छ । साउन १ गते कास्की जिल्लाकै माछापुछ्रे गाउँपालिका– ८ खोरामुखमा पहिरोबाट ३ जनाको मृत्यु भएको छ ।

घटना ३ ः असार २५ गते बिहीबार राति लमजुङ जिल्लाको वेशीशहर नगरपालिका– ७, सातबीसेमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु र ३ जना घाइते भएका छन् ।

घटना ४ ः असार २६ गते शुक्रबार बिहान म्याग्दी जिल्लाको धवालागिरी गाउँपालिका– ६ मा पहिरो जाँदा ७ जना बेपत्ता भएका छन् । २ घर पहिरोले पुरेको र २ घर बाढीले बगाएको छ । १७ घर विस्थापित भएका छन् । उक्त जिल्लामा पहिरो र बाढीले थुप्रै पुल सडक बगाएको छ । धेरै स्थानहरु प्रकोप जोखिमको नजिक छन् ।

माथि उल्लिखित घटनाहरु मनसुन शुरु भइसकेपछिका विपत्तिहरु हुन् । उल्लिखित विपदहरुद्वारा लाखौंको धनजनको क्षति भइसकेको छ । ती स्थानहरु वरपर अझै जोखिम बढी नै छ । साथै अन्य पहाडी क्षेत्रहरुमा पहिरो तथा बाढीको उच्च जोखिममा छन् । मनसुन शुरु भइसकेपछि साउन १ गतेसम्मको तथ्याङ्क केलाउँदा बाढीपहिरोबाट ४९ जनाको मृत्यु भइसकेको छ । ५१ जना बेपत्ता र ८५ जना घाइते भएका छन् । नेपाल प्रकोप–विपद बहुआयामिक जोखिममा रहेको देश हो । बाढीपहिरो जोखिमको हिसाबले ३० औं स्थानमा रहेको छ । जलवायु परिवर्तन जोखिमको हिसाबले ४ औं स्थानमा पर्दछ । अन्य प्रकोपहरुको बहुआयामिक जोखिमहरु त छँदैछ । वर्षायामको समयमा पहाडी तथा भिरालो भूभागमा पहिरो र तराई क्षेत्रमा डुबान तथा बाढी प्रमुख विपत्ति हुन् । अहिले भर्खर मनसुन शुरु हुँदैछ । जमिनले उल्लेख्य पानी सोस्न बाँकी छँदैछ । भूभाग लच्किने र चिरा पर्न बाँकी छ । व्यापक मूल फुट्न बाँकी छ । असर भयावह हुने देखिन्छ ।

साउन महिनामा भीषण वर्षा हुने गर्छ । राज्यका निकायहरु तथा अन्य सङ्घसंस्थाहरु पूर्वतयारीमा जुटिरहेका छन् । तर क्षति न्युनिकरण सन्तोषजनक हुन सकिरहेको छैन । पछिल्लो समयमा बझाङ, पाल्पा, गुल्मी, अर्घाखाँचीमा पनि पहिरोले व्यापक क्षति पुराएको छ । थुप्रै स्थानहरु पहिरोको जोखिममा रहेका समाचारहरु आएका छन् । अझै पूर्ण मनसुन आइसकेको छैन । सदाझैं पानीका मूलहरु फुट्न बाँकी नै छ । अहिलेसम्म माटो गल्नेगरी पानी परेको छैन । विगतको अनुभवहरु केलाउने हो भने बाढीपहिरोले क्षति पुराउने समय आउन बाँकी नै छ ।

विपदको स्वरुप प्राकृतिक देखिए पनि मुख्य कारण राजनीतिक हुन् । पटकपटक परिवर्तित शासन व्यवस्थाहरुले जोखिममा रहेका समुदायको सङ्कटासन्नतालाई पहिचान गर्न सकेनन् । न्युनिकरण गर्न सकेनन् । सामुदायिक प्रतिकार्य क्षमतालाई बृद्धि गराउन सकेनन् । जसको परिणाम प्रत्येक वर्ष सयौंले मनसुनजन्य विपदबाट ज्यान गुमाउने गरेका छन् । लाखौं धनजनको क्षति हुने गरेको छ ।

दैवी प्रकोप (उद्धार) ऐन, २०३९ लाई विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ ले प्रतिस्थापन गर्यो । विपद दैवको लीला होइन भन्ने बिन्दुसम्म आइसकेको छ । तर सिङ्गो विपद व्यवस्थापन चक्र र प्रक्रियालाई बुझ्न र कार्यान्वयन गर्न सकिरहेको छैन । केही गैरसरकारी संस्थाहरु विपद व्यवस्थापन प्रक्रियालाई संस्थागत गर्ने कार्यमा वर्षौंदेखि होमिएका छन् । तर उल्लेख्य प्रगति हुन सकिरहेको छैन । सरकारी निकायहरु भने विकासको मन्त्र जपिरहेका छन् ।

प्रकोपको हिसाबले कठिन भूगोल र कमजोर उत्थानशीलता नै पटकपटकको विपदको मुख्य कारण हो । तर हामीले न त प्रकोपलाई चिन्न सक्यौं न त उत्थानशील हुन सकियो या सङ्कटसन्नतालाई कम गर्न सकियो । हाम्रो विपदप्रतिको मनोविज्ञान परिवर्तन हुन सकेन । हामीले पूर्वतयारी, न्युनिकरण तथा रोकथामका योजनाहरु सम्पन्न गर्न सकेनौं । पूर्वतयारी र रोकथाममा लगानी बढाउने कुरामा ध्यान दिन सकेनौं । वर्षायाम आउँदा प्रकोप–जोखिम सम्झने र हिउँद लागेपछि बिर्सने परिपाटीको कहिले अन्त्य होला ?

नेपालमा पछिल्लो समयखण्डमा राजमार्ग वरपरका भूभाग तथा खोला खोल्सा आसपास अव्यवस्थित बस्तीहरु विकास भए । गाउँबस्ती क्षेत्रमा जथाभावी ग्रामीण मोटरबाटो खनिएका छन् । प्राकृतिक कुलो, खहरे तथा भलपानीको मार्गमा अवरोध भयो । जसले गर्दा पहाडी भूभागमा पहिरो गएको देखिन्छ । बाढी पहिरोको अर्को मुख्य कारण जलवायु परिवर्तन हो । त्यसैगरी नदीनाला र चुरे क्षेत्रमाथि हुँदै गरेको अप्राकृतिक चरम दोहन हो ।

अधिकांश वर्ग र समुदायहरु वर्षौंदेखि जोखिमयुक्त स्थानमा जीवनयापन गरिरहेका छन् । गरीब तथा सिमान्तकृत वर्गहरुको बसाई खोला किनार तथा कठिन भूपरिवेशमा रहेका छन् । ती घर तथा बस्तीहरु अझै पनि सङ्कटसन्नता अवस्थामा छन् । ती वर्गहरुको विपद प्रतिकार्य क्षमता वृद्धि गर्नुपर्ने देखिन्छ । सो कार्य नहुँदा धनजनको क्षति हुने देखिन्छ । विपद व्यवस्थापनमा सही कार्यक्रम तथा योजनाहरु सम्पन्न गर्न सकेमा प्रतिकार्य तथा पुनर्निर्माणमा भन्दा ५ गुणा कम खर्च हुने र विपदद्वारा जीवन गुमाउनु पर्ने हुँदैन ।

पहिरो नियन्त्रणका लागि स्थानीय अनुभव, क्षमता र सीपहरु प्रयोग गरेको खण्डमा क्षतिलाई धेरै कम गर्न सकिन्छ । अग्रज पुर्खाहरुले झैं सावधानी अपनाइएको खण्डमा गम्भीर क्षतिबाट बच्ने देखिन्छ । स्थानीय सरकारले जोखिमयुक्त स्थानहरुको समयमा सही पहिचान गरी बस्ती स्थानान्तरण तथा सही रोकथामको कार्य गर्नुपर्ने देखिन्छ । जोखिमयुक्त बस्तीहरुलाई सुरक्षित स्थानमा बसोबास गर्नको लागि उपयुक्त व्यवस्था गर्नुपर्ने देखिन्छ । समुदायको तहबाट भरपुर पूर्वतयारी तथा प्रतिकार्य योजनाहरु निर्माण हुनुपर्ने देखिन्छ । सही समयमा नै पूर्वतयारीका कार्यहरु सम्पन्न गर्नुपर्ने देखिन्छ । हरबखत सजकता अनिवार्य छ ।

अन्तमा, यो आलेख तयार पारिरहँदा मनसुन फेरि शुरु हुँदैछ । मौसम विज्ञहरुका अनुसार साउन पहिलो साता व्यापक वर्षा हुने अनुमान छ । र, व्यापक वर्षा पनि हुँदैछ । विपद जोखिमको हिसाबले देश ज्यादै विकराल अवस्थाको नजिक छ । सिङ्गो देश कोरोना सङ्कट र लकडाउनबाट समेत मुक्त हुन सकिरहेको छैन । कोरोना सङ्कटले धेरै प्रकारका विपत्तिहरुलाई आकर्षित गरेको छ । विपद प्रतिकार्यका लागि परिचालन हुन कठिन छ । बाढी पहिरोको क्षति बढ्ने अनुमान गर्न सकिन्छ । तसर्थ, सबै तहको सरकारहरुले सही पूर्वतयारीको मार्गचित्र निर्माण गर्नुपर्ने देखिन्छ । पूर्वतयारीका योजनाहरुको कार्यान्वयन गर्नुपर्ने देखिन्छ । समुदाय तथा अन्य सङ्घसंस्थाहरुले सरकारलाई भरपुर सहयोग गर्नुपर्ने देखिन्छ । सबै जनाले विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ । आफू बचौं र अरुलाई पनि बचाऔं ।


प्रतिक्रिया दिनुहोस्