मोबाइल हरायो ? प्राधिकरणमा गर्नुस खबर, भेट्टाएको फोन चलाए अब कारबाही

प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार


काठमाडौं । तपाईंको मोबाइल सेट हराएको छ ? वा तपाईंले कुनै मोबाइल फोनसेट भेट्टाउनु भएको छ ? यदी छ भने तत्काल नै नेपाल दूरसञ्चार प्राधिकरणमा तपाईंले जानकारी गराउनुस्।

तपाईंको मोबाइलसेट अनाधिकृतरुपमा कोही कसैले प्रयोग गर्ने वा गैरकानूनी रुपमा बिक्री वितरण गर्ने कामलाई रोक्ने ध्ययेका साथ प्राधिकरणले मोबाइल ट्रयाकिङ सेवा शुरु गरेको छ ।

मोबाइल फोनसेटको पहिचानका रुपमा हरेक मोबाइल फोनसेटमा ‘इन्टरनेशनल मोबाइल इक्यिुपमेन्ट आइडेन्टिटी आईएमईआई/ इलेक्ट्रिोनिक सिरियल नम्बर ईएसएन मोबाइल इक्यिुपमेन्ट आइडेन्टिटी एमईआईडी रहन्छन् ।

प्राधिकरणको सिफारिसमा मात्रै मोबाइल फोन आयात हुने भएकाले नेपालमा आयात भएका सम्पूर्ण मोबाइल फोनसेटको रेकर्ड प्राधिकरणसँग नै हुन्छ ।

साथै प्राधिकरणले नेपालमा प्रयोग भइरहेका सबै मोबाइल फोनसेटको रेकर्ड प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दुरसञ्चार सेवा प्रदायकलाई मात्रै दिएको हुन्छ ।

त्यसैले प्राधिकरणले कुनै पनि व्यक्तिको हराएको मोबाइल फोनसेटको ट्रयाकिङ गर्नका लागि ‘मोबाइल ट्रयाकिङ’ सेवा सबैका लागि उपलब्ध गराएको हो ।

प्राधिकरणले यदी कसैको मोबाइल सेट हराएको छ भने तुरुन्तै प्राधिकरणको वेवसाइट www.nta.gov.np मा उपलब्ध वेवलिंक https://eir.nta.gov.np/main/individual/track मा गइ निवेदन दिन सक्ने जनाएको छ ।

त्यसैले कसैले मोबाइल फोनसेट भेट्टाउनु भएको छ भने तुरुन्त जसको फोनसेट हो सोही व्यक्तिलाई वा नजिकको नेपाल प्रहरीको कार्यालयमा वा प्राधिकरणमा जानकारी गराइ फिर्ता गर्न सक्ने जनाएको छ ।

तर यदी कसैले त्यस्तो भेट्टाएको फोनसेट सम्बन्धित व्यक्तिलाई नदिइ अन्य व्यक्तिलाई बिक्री गरेको वा कसैले खरिद गरेको पाइएमा सहजै मोबाइल ट्रयाकिङ गर्न सकिने भएकाले कानून बमोजिम कारबाही हुने समेत प्राधिकरणले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्