ओलीको महाधिवेशन तुरुपभित्र षडयन्त्रका यस्ता तानाबाना

प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार


प्रायः सरकारका विरुद्ध अविश्वासको प्रस्ताव वा प्रधानमन्त्रीलाई पदबाट हटाउने अभियान संसदीय व्यवस्था भएका देशमा प्रमुख प्रतिपक्षी दलले गर्दछन्। नेपालमा भने पछिल्लो समय सत्तारुढ दलले नै प्रधानमन्त्रीको राजीनामाको विषयलाई चर्कोरुपमा उठायो।

दलीय व्यवस्था भएकाले प्रधानमन्त्री दलको निर्णयबाट चल्नुपर्ने मुद्दा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र उठ्यो। प्रधानमन्त्री केपी शर्मा ओली भने पार्टीका अरु नेताहरुले उठाएका कुराहरु अलिकति पनि सुन्न तयार देखिएनन् । उनी र उनका नजिकका अरु नेता कार्यकर्ताहरु राजीनामा दिने कुराको उच्चारण नै नगर्न भन्दै सक्ने भए जे गरे पनि गर भनेर चेतावनी दिइरहेका छन्।

यस्तो जुहारीबीच सत्तारुढ दलभित्रको आन्तरिक विवाद नयाँ चरणमा प्रवेश गरेको छ। दुई अध्यक्ष रहेको पार्टीका पहिलो अध्यक्ष तथा प्रधानमन्त्री भएर पनि केपी शर्मा ओलीले अरु नेता तथा पार्टीलाई मिलाएर राख्नुको सट्टा कुनै सरसल्लाह नै नगरी मनोमानी गरेपछि रिसाएका अरु नेताहरु फेरि ओलीको जालमा परेका छन्।

केपी ओली अरुलाई हप्काउन, थर्काउन, थकाउन, गलाउन र आश्वासनका पोका फालेर जालमा पार्न माहिर मानिन्छन्। उनी यस्ता स्टन्ट दिइरहन्छन्। यसअघि थुप्रैपटक सहमति गर्दै फसाउँदै प्रचण्डलाई मिलाउने गरेका केपी यसपटक सबै नेताहरुलाई पनि जालमा हाल्न सफल भएका छन्।

सहमति गर्ने तर सहमतिका लिखित वा मौखिक भाषा, त्यसमा पनि अक्षर र शब्दमा समेत अत्यन्तै खेल्ने ओलीले यसपटक अबको चार महिनामै पार्टीको महाधिवेशन गरेर आफूले पद छाडिदिने प्रस्ताव अरु नेताहरुका बीच फालेका छन्।ओलीको मनोमानीले चिढिएर उनका विरुद्ध एक ठाउँमा उभिएका नेताहरु त्यो प्रस्तावमा सहमत भएको पनि देखिएको छ।

यो प्रस्तावले तत्कालका लागि राजीनामाको झटारोलाई सजिलै सामसुम पार्न ओली सफल पनि भएको देखिन्छ । तर, ओलीले यो चार महिनामा कस्ता कस्ता खेल खेल्छन् भन्ने धेरैले अनुमान समेत गर्न नसक्लान्। विगतमा उनले चाल्ने कदम र उनको स्वभावलाई हेर्ने हो भने उनले महाधिवेशनको यो प्रस्तावलाई बीचैमा ढिसमिस पार्न सक्ने सम्भावना उत्तिकै छ।

ओली यस्ता सानातिना खेल खेलिरहन्छन्। उनी राजनीतिक उट्पट्याङ पनि गरिरहन्छन् । कतिपय अवस्थामा उनी अरुहरुलाई चिढ्याउन, जिस्काउन र छेडखानी गर्न पनि निकै सिपालु देखिन्छन्।

जस्तो कि पार्टीको सल्लाह र निर्णयविपरीत सरकार हिँडेको भन्दै पार्टीका नेताहरुले राजीनामा मागेका बेला उनले केही दिनअघि लोकले देखिने गरी अरु नेताहरुलाई लोप्पा खुवाउँदै संसदको बजेट अधिवेशन अन्त्य गरिदिए । १२ बजे पार्टी सचिवालयको बैठक आफै बोलाएका ओलीले त्यसको ठीक १ घण्टाअघि संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरे।

चाहेको भए उनले एक घण्टा पछि बस्ने पार्टीको सचिवालय बैठकमा यो विषयमा निर्णय नै नगराउने भए पनि जानकारी गराउन उनी सक्थे तर उनले यो एकखालको उटपट्याङ गरे।

प्रतिपक्षी निकै चिढिएका बेला कहिलेकाहीँ ओली संसदमा आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको टेबुलमा राखिएको पुस्तक खोसेर रोष्टममा गई पढ्ने र हाँस्दै फर्केर उनलाई फर्काइदिने जस्ता उट्पट्याङपूर्ण मजाक पनि गरेको देखिन्छ।

पार्टीमा पूरै अल्पमतमा परेका बेला उनी अरु नेताहरुलाई यसरी रिङाइदिन सक्छन् कि ‘तिमीहरु जे जे गर्नसक्छौ लु गर’ भनेर खुल्लमखुल्ला चुनौती दिन्छन् र जुन कामको विरोध गरिएको हो, त्यो काममा अझ स्पीड बढाइदिन्छन्। जसबाट विरोध गर्ने नेताहरु अझै चिढिऊन् ।

पछिल्लो समय उनले आफूलाई भारतले पदबाट हटाउन खोजेको भनेर अभिव्यक्ति दिए। त्यसपछि उनी भारतलाई चिढ्याउन अझै अरु स्टन्ट हान्दै हिडिरहेका छन्। अयोध्या र राम प्रकरण त्यसकै श्रृङ्खला हो।

ओलीले यो भारतलाई चिढ्याएर त्यसबाट आफ्नो छवि सुधार्न खोजेको सहजै बुझ्न सकिन्छ। यदि उनले अयोध्या र रामका सम्बन्धमा साँच्चिकै नेपालको दावीलाई दह्रो बनाउन चाहन्थे भने विज्ञहरुको टिम बनाएर पुरातात्विक अध्ययन, अनुसन्धान गराउने, लिम्पियाधुरामाथिको दावीजस्तै गरी सम्पूर्ण बलिया प्रमाणहरुसहित यो विषयलाई सरकार र सदनबाट उठाउन सक्थे। आख्यानमा गरिएका चर्चाका केही हरफहरुका आधारमा मात्र साहित्यिक कार्यक्रममा प्याच्च बोल्दैनथे।

अहिले ओलीले अघि सारेको महाधिवेशन प्रस्ताव प्रचण्ड माधव नेपाल समूहलाई गलाउन र उनीहरुको रिस शान्त पार्न ल्याइएको प्रस्ताव मात्र हो । मंसिरमा गर्ने भनिएको महाधिवेशन न त नेकपाले गर्न सक्ने अवस्था छ, न त ओली वा अरु नेताहरु साँच्चिकै त्यो चाहन्छन् नै।

ओली यसबीचमा खेलेर प्रचण्ड र माधव नेपालबीचको फाटो पारिदिन बेर लाउने छैनन्। उनले झलनाथ, वामदेवहरुलाई पनि त्यो टिमबाट फुटाएर उनीहरुलाई एक्ल्याउन बेर लाउने छैनन्। उनले माधव नेपाल वा प्रचण्डलाई आफूतिर तानेर अरुलाई एक्लै बनाउन पनि सक्छन्। त्यस्तो भयो भने ओलीले होइन, अहिले ओलीलाई हटाउने उपाय फुराउन कम्मर कसेर लागेका नेताहरु नै त्यो महाधिवेशन रोक्न न्वारानदेखिको बल लगाउनेछन्।

फेरि यस्ता खेल खेल्न प्रधानमन्त्री ओलीसँग प्रशस्तै तुरुप छन्। उनले कुन नेतालाई कुन तुरुप लगाउँदा हुन्छ भन्ने राम्ररी जानेका पनि छन् । ओलीले सबै नेताका नाडी राम्ररी छामेका छन्। यदि तुरुपले काम गरेन भने उनी आफैले त्यो महाधिवेशन चुट्कीका भरमा रोक्छन्।

आउने अर्को चुनावको मुखमा महाधिवेशन गराएर पार्टीमा विभाजित मानसिकता बनाउनु हुन्न बरु चुनावका लागि भए पनि सबै कुरा थाँती राखेर एकजुट हुन उनले आह्वान गर्छन्। बरु नेताहरुको व्यवस्थापन उम्मेदवार बनाएर गरिदिन सक्नेछन्।

यदि महाधिवेशन भइनै हाल्यो भने मंसिरको महाधिवेशनले सबैभन्दा घाटा प्रचण्डलाई अनि फाइदा केपी ओलीलाई नै हुनसक्छ । पार्टीमा अल्पमतमा परेर बेलाबेला विधेयकको सहारा लिन खोजिरहेका केपी ओलीलाई अहिले यो भागवण्डामा मनोनीत टाइपको पार्टी संरचना बदलेर अहिलेको भन्दा बहुमत कायम गर्नसक्छन्।

उनले त्यसका लागि सरकारको पावर भरपुर प्रयोग गर्नसक्छन् । सके बहुमत नभए ४० प्रतिशतभन्दा बढीको अवस्था त उनले बनाउन सक्छन् । अर्कोतिर एकता प्रक्रियाबाट जति संख्यामा प्रचण्डले आफ्ना मान्छे केन्द्रीय समिति र स्थायी समितिमा राख्न सफल भएका छन्, त्यो संख्या अबको महाधिवेशनबाट पक्कै घट्नेछ । उस्तै परे प्रचण्डकै पोजिशन के हुन्छ भन्न सकिन्न ।

त्यसैगरी प्रचण्ड र ओली मिलेको खण्डमा सधै कर्नरमा परिने हो कि भन्ने चिन्ता माधव नेपाल समूहलाई छ । माधव नेपाल पछिल्लो समय ओलीबाट निकै पीडित छन् । ओलीबाट उनी पार्टीमा निरन्तर पेलान खेपेका माधव नेपाल प्रचण्डबाट पनि त्यतिकै सचेत छन् । जतिखेर पनि जता पनि जानसक्ने वा जुन प्रस्तावमा पनि पौडी हानिदिने प्रचण्ड स्वभावले उनलाई तर्साइरहन्छ नै।

जे भए पनि यो पार्टीमा तुलनात्मक रुपमा माधव नेपाल समूहमा वैचारिक र राजनीतिक क्षमता भएका नेता कार्यकर्ताहरु छन्। तर, नेपालको संसदीय राजनीति इमान्दारिता, वैचारिक क्षमताले चलिरहेको छैन । चाकडी, चाप्लुसी, साम, दाम, दण्ड, भेदमा संसदीय राजनीति अघि बढिरहेको छ । टाउको होइन, यहाँ पाखुरा हावी छन्। विचार होइन, नोट र नियुक्ति हावी छ ।

प्रचण्ड पछिल्लो समयका चुतर राजनीतिक खेलाडी हुन् नै। उनी आफ्नालाई मात्र होइन, विपक्षीलाई समेत आश्वासनका पोका खुवाउन सिपालु देखिन्छन्। फकाफक ती पोका खुवाउँदै अरुलाइ प्रभाव पारेर उनी जता पनि मिल्न र मिलाउन सक्छन्। एक भेटमै उनी आफ्नो मोहनी लगाउन सक्छन्।

त्यही भएर ओलीविरुद्ध मोर्चा कसिरहँदा पनि माधव नेपाल समूहले यसबीचमा प्रचण्डले ओलीसँग केही भित्री सहमति गरे कि भन्दै शंका गरिरह्यो। पछिल्लोपटक ओलीले फालेको महाधिवेशनको कार्डमा कतै प्रचण्डको भित्री सहमति त छैन भन्ने शंका फेरि पनि गरिएको छ।

हुनसक्छ नेताहरुले आफ्नो अस्तित्व जोगाउन बाध्यताले यस्ता क्रियाकलाप गर्नुपरिरहेको छ। तर, यी र यस्ता जेसुकै घटनाक्रमहरु अघि बढाएर नेताहरुले आआफ्ना व्यक्तिगत फाइदामा तानतुन गरे पनि आखिर यसबाट राजनीतिक संस्कारमाथि भने निरन्तर प्रहार भइरहेको छ। राजनीतिक नैतिकतालाई यस्ता क्रियाकलापले खुइल्याउने काम गरेका छन्।

मूल्यको राजनीतिमाथि यसले निरन्तर प्रहार गरिरहेको छ। राजनीतिक पार्टीहरुभित्र खराब संस्कार विकास भयो भने त्यसले अन्ततः आम नागरिकलाई प्रभाव पार्छ। आम नागरिकमा प्रभाव पर्नु भनेको अन्ततः देशमा नै प्रभाव पर्ने हो। यसले देशलाई बिगार गर्दछ । कुनै पनि व्यवस्था आफैमा गलत नहुन सक्छन्।

त्यसलाई खेलाउने खेलाडीहरु वा कार्यान्वयन गर्ने कर्ताहरुले त्यसको रुप बिरुप पारिदिन्छन्। त्यही कुरा नेपालमा भएको छ। अहिलेका नेताहरु जुन व्यवस्थालाई अहिलेको उत्कृष्ट व्यवस्था भन्छन्, त्यही व्यवस्थालाई तन्नम बनाइरहेका छन्। जुन सिद्धान्त बोकेको भन्छन्, त्यो सिद्धान्तकै उनीहरु बदनाम बनाइरहेका छन्।

प्रजातन्त्रको वकालत गर्नेहरुले प्रजातन्त्रकै बदनाम गर्ने र समाजवादको वकालत गर्नेहरुले समाजवादको भद्दा नमूना प्रस्तुत गरेर समाजवादकै बदनाम गर्ने काम गरिरहेका छन्। यो तुरुपवाजी र स्टन्टबाजी रोकेर देशको हितलाई गहिरिएर मनन गर्नु आजको आवश्यकता हो।


प्रतिक्रिया दिनुहोस्