आखिर चरित्रहीन को त ?

प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार


ठूलाबडा, महापुरुषहरुले जतिसुकै खोक्रा भाषण छाँटे पनि स्त्रीमाथि गिद्धे नजर लाउन त माहिर नै हुन्छन् । धार्मिक गुरुहरुदेखि राजनीतिज्ञ, विद्वान, मन्त्री, प्रोफेसर तथा उच्च पदस्थ व्यक्तिहरु समेत यौन दुराचारी भएका खबर समय समयमा हामीले पढेसुनेकै समाचार हुन् । छिमेकी मुलुक भारतमा धार्मिक गुरु आशाराम बापु दिनहुँ धार्मिक प्रवचन दिँदै पाप र पुण्यको जोखना गर्ने गर्थे तर उनको भित्री स्वरुप यौनकाण्डले उदाङ्गो पारिदियो । त्यस्तै नेपालकै धार्मिक गुरु मानिएका रामबहादुर बमजन अर्थात ‘लिटिल बुद्ध’ भनिएका पनि निकै विवादमा तानिएका छन् ।

राजनीतिक क्षेत्र पनि यौन दुराचारका लागि मैदानै जस्तो देखिन थाल्यो । सभामुखदेखि वडाध्यक्षसम्म यौनकाण्डमा मुछिए । परीक्षामा राम्रो नतिजा ल्याउन सहयोग गर्ने भन्दै छात्रा विद्यार्थीलाई ब्ल्याकमेल गरेका घटना बाहिर आउँछन् त कहिले जागिरको प्रलोभन दिएर यौनशोषण गरेका घटना बाहिर आउँछन् । कहिले हाकिमबाट कारिन्दा महिला यौन शोषणमा परेका घटना बाहिर आउँछन् । धेरै घटना त जब ‘मि टु’ को लहर चलेको थियो, त्यतिबेला बाहिर आएको थियो जसमा प्रदेश मन्त्री समेत मुछिए ।

हाम्रो समाजमा पुरुषसँग खुलेर बोल्ने महिलालाई चरित्रहीनको संज्ञा दिइन्छ अर्थात कोही महिला पुरुषहरुसँग बिना हिचकिचाहट बोल्नु भनेको पुरुषसँग सहजै लहसिएको अनुमान लगाइदिन्छन् । पुरुषको आँखामा आँखा जुधाएर बोलेपछि नकच्चरीको संज्ञा दिइन्छ अनि सोधपुछ गर्न थाल्छन् कि कस्तो चरित्रको आइमाई हो भनेर । पुरुषसँग नजिक भएर वा साथी ठानेर सामान्य छोइयो भने आफूलाई निम्ता दिएको ठानेर तुरुन्तै खराब चरित्रकी गलत आइमाई बनाइदिन्छन् । कामकाज या कुनै पनि बिषयले अबेर रात घरमा आए पनि खराब लत लागेकी चरित्रहीन आइमाईको बिल्ला भिराउन क्षणभर समय लाग्दैन यहाँ । साथी होस् वा आफन्त, तीन दिन लगातार कुनै पुरुषको मोटरसाइकल वा गाडीमा सवार गरेको देखे भने पनि उनीहरुको सम्बन्ध उही एउटी गलत प्रकृतिकी आइमाई र पुरुषको बनाइदिन्छन् । महिलाले लगाएको कपडाबाट उसको चरित्र मापन गरिन्छ । छोटा लुगा, शरीर देखिने लुगा लगाएर पुरुष भड्किन्छ भन्नेहरु हो, तिम्रा घरका महिलालाई बुर्का लगाइदिएका छौ ? फेरि बुर्काको पनि बिरोध किन गर्छौ ? आफ्नो शरीरलाई आफ्नो बशमा पार्न सक्दैनौ भने किन एकोहोरो स्त्रीलाई मात्रै चरित्रहीनताको दोष ?

मैले आजसम्म नबुझेको कुरा– महिलाले पुरुषसँग बोल्दा, सामान्य स्पर्श हुँदा, सँगै काम गर्दा, सँगै खाँदा वा बस्दा चरित्रहीन हुन्छे भने पुरुष चरित्रवान कसरी भयो त ? आखिर महिलालाई चरित्रहीन बनाउने पुरुष हैन त ? कि महिला एक्लै चरित्रहीन हुन् ? अरु आरोप लगाउन सक्नु पर्यो कि पुरुषले पनि महिलासँग संसर्ग नगर्न सक्नु पर्यो । हैन भने महिला एक्लै चरित्रहीन कसरी ?

महिलालाई हेरेर यौन चाहना पूरा गर्न खोज्ने आफ्ना लालायित आँखालाई कन्ट्रोल गर । महिलासँग छोइएर सन्तुष्टि लिन खोज्ने तिम्रो पापी मन बाँध । आफैले महिलाको शरीरप्रति आशक्ति जनाउँछौ अनि आफै महिलाको चरित्र मापन गर्छौ ? अनि आँखाले हेरेर कस्तो चरित्रकी आइमाई भनेर बुझ्न हिड्छौ महापुरुषहरु ?

आज महिलाहरु दिनानुदिन तिनै खराब पुरुषको गलत नियतको शिकार बनिरहेका छन् । छोरी बाउसँग सुरक्षित छैन भने अरु कोसँग सुरक्षित होलिन् ? सार्वजनिक यातायातमा हिड्यो भने त्यहीँ अघोषित बलात्कार हुन्छ । अफिस, स्कूल, टोलछिमेक जहाँ पनि महिला अघोषित बलात्कार भइरहेकी हुन्छे र त्यो बलात्कार गर्ने उनै हुन्छन् जसले सबैभन्दा बढी महिलाको चरित्र मापन गर्दै हिड्छ । आफूले आफ्नो आशक्ति ब्यक्त गर्छ र यदि महिलाले सहमति जनाइन् भने उसलाई बदचलन आइमाई त्यही पुरुषले भन्छ । खबरदारी गरौं यस्ता पुरुषहरुलाई जसले महिलालाई यौनदासी सम्झन्छ ।

मेरो आशय सबै पुरुष खराब भन्ने होइन । समाजमा केही असल पुरुष पनि नभएका हैनन् तर केही खराब प्रकृतिका पुरुषका कारण असल पुरुषलाई पनि असर पुगेको छ । जबसम्म पुरुषवादी सोंचमा परिवर्तन आउँदैन तबसम्म महिला एक्लै दोषी ठहरिने छिन् । सोंच बदलौं ।


प्रतिक्रिया दिनुहोस्