डब्ल्यूएचओले भन्यो, हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटियो

प्रकाशित मिति : असार २४, २०७७ बुधबार


काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण फेला परेको जनाएको छ। यसअघि डब्ल्यूएचओले हावाबाट कोरोना भाइरसको संक्रमण फैलिने कुनै प्रमाण फेला नपरेको बताउँदै आएको थियो।

केही दिनअघि ३२ देशका २३९ वैज्ञानिकहरुले अध्ययनमा हावाबाट कोरोना सर्ने पुष्टि भएको भन्दै डब्ल्यूएचओलाई लिखित पत्र पठाएका थिए। उनीहरुले डब्ल्यूएचओलाई अहिलेको मापदण्ड परिवर्तन गर्न पनि आग्रह गरेका थिए।

डब्ल्यूएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले हावाबाट कोरोना फैलिने विषय अहिले पनि अध्ययन मै रहेको भएपनि केही प्रमाण भेटिएको दाबी गरेकी छिन्।

साथै डब्ल्यूएचओले भिडभाड ठाउँमा, कम हावा भएको ठाउँमा र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने आशंकाबाट अस्विकार गर्न नसकिने जनाएको छ। यस बारेमा अझै विस्तृत अध्ययन भइरहेको पनि डब्ल्यूएचओले जनाएको छ।

यसअघि डब्लुएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो।


प्रतिक्रिया दिनुहोस्